बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडाैं – चौधौँ शताब्दीमा युरोएसिया तथा मध्य युरोपमा फैलिएको भयानक महामारीका कारण दुई करोड ५० लाख भन्दा धेरै मानिसको ज्यान गयो ।

प्लेगसहितका महामारीका कारण सन् १३४७ देखि १३५१ को बिचमा ठूलो संख्यामा मानिसको ज्यान जाने गरी फैलिएको महामारीको कारण मुसा रहेको मानिदै आएको थियो ।  तर पछिल्लो अनुसन्धानले महामारीको कारक मुसा नभएर मानिस आफै रहेको देखाएको छ ।

मानव इतिहासमा सबैभन्दा भयानक महामारीको रुपमा रहेको ब्ल्याक डेथका लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले बताएका छन् । शृङ्खलाबद्ध रुपमा फैलिएको महामारीका कारण धेरै मानिसको ज्यान गएका कारण त्यसलाई ब्ल्याक डेथ भन्ने गरिएको छ ।युनिभर्सिटी अफ ओस्लो र युनिभर्सिटी अफ फेराराका अनुसन्धानकर्ताका अनुसार प्लेगसहितका महामारी फैलिनुमा मुसा नभई उपियाँ र जुम्रा जिम्मेवार थिए । मुसाका कारण नभइ मानिसको शरीर तथा लुगामा बस्ने उपियाँ र जुम्राले गर्दा प्लेगसहितको महामारी फैलिएको प्रमाण भेटिएको ओस्लो विश्वविद्यालयका प्राध्यापक निल्स स्टेनसेथले बताए ।

महामारी फैलिएका युरोपका नौ शहरमा गरिएको अनुसन्धानमा महामारी फैलिनुको कारण मुसा भन्दा उपियाँ र जुम्रा बढी रहेको देखिएको हो । महामारीमा मुसा पनि कारक देखिएको छ तर त्यो भन्दा बढी मानिसको शरीरमा रहने उपियाँ र जुम्रा प्रमुख रहेको प्राध्यापक स्टेनसेथले बताए । अनुसन्धान गरिएका ९ मध्ये सात शहरमा उपियाँ र जुम्रा कारक देखिएको उनको भनाई छ ।

मुसाका कारण भन्दा उपियाँ र जुम्राका कारण महामारी छिटो फैलिएको अनुसन्धानकर्ताले बताएका छन् । यसरी हेर्दा मानिसको शरीरमा रहने उपियाँ वा जुम्रा नै महामारीको प्रमुख कारक रहेकाले दोष मुसालाई नभई मासिनलाई नै दिनु पर्ने अनुसन्धानकर्ताको तर्क छ ।

चौधौँ शताब्दीमा मात्रै दुई करोड ५० लाख मानिसको ज्यान गएको महामारी १९ औँ शताब्दीसम्म शृङ्खलाबद्ध रुपमा फैलिएको थियो । यसले गर्दा समग्रमा सात करोड ५० लाख देखि २० करोड मानिसको ज्यान गएको अनुमान गरिन्छ । -एजेन्सी

तपाईको प्रतिक्रिया