बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडाैं – कतिपय भिटामिन र खनिजले बेग्लाबेग्लै काम नगरी एकसाथ काम गर्छन् । कतिपय अवस्थामा भने एउटाको प्रभावलाई अर्कोले प्रभावहीन बनाउँछ ।

त्यसैले हामीले भिटामिन-खनिजका चक्की-क्याप्सुल खानुभन्दा भिटामिन-खनिजयुक्त भोजन गर्नु उपयुक्त हुन्छ । किनभने भोजनमा एउटा मात्र नभएर विभिन्न पोषक तत्व वा भिटामिन-खनिज पाइन्छ, जसले आपसमा प्रतिक्रिया गर्छन् वा एकसाथ काम गर्छन्। एकसाथ काम गर्ने पोषक तत्व निम्नानुसार छन्ः

भिटामिन डी र क्याल्सियम
अरु पोषक तत्वजस्तै क्याल्सियम पनि सानो आन्द्राले सोस्छ । हाड बलियो पार्ने भएकाले क्याल्सियम शरीरका लागि अत्यन्त महत्वपूर्ण छ। तर, क्याल्सियम सोस्न शरीरलाई भिटामिन डी नभई हुँदैन । शरीरमा भिटामिन डीको अन्य काम पनि छन्। त्यसैले भिटामिन डी र क्याल्सियम सँगसँगै उपभोग गर्नुपर्ने हुन्छ ।

अहिले हामीलाई भिटामिन डीको दैनिक मात्रा अपुग भएकाले बढाउनुपर्ने वा नपर्नेमा बहस चलिरहेको छ । अधिकांश आधिकारिक स्वास्थ्य निकायले नै वयस्कका लागि दैनिक १ हजार मिलिग्राम क्याल्सियम र ४ सय आइयू (इन्टरनेसनल युनिट) भिटामिन डी आवश्यक भएको बताउन थालेका छन् ।

सोडियम र पोटासियम
सोडियम शरीरका लागि अत्यावश्यक पोषक तत्व हो । तर, यसको बढी सेवनले रक्त वाहिनी नली खुम्चिने र फैलने प्राकृतिक क्षमता अवरुद्ध गर्छ र रक्तचाप बढाउँछ । उच्च रक्तचाप उच्च भए हार्टफेल र मस्तिष्कघातको जोखिम बढाउँछ । अधिकांश अमेरिकीले आवश्यकभन्दा बढी मात्रामा सोडियम (नुनका रूपमा) दैनिक उपभोग गरिरहेको अध्ययनहरूले देखाएका छन् ।

शरीरका लागि अत्यावश्यक अर्को अर्को पोषक तत्व हो पोटासियम । यसले सोडियमको प्रभाव मत्थर पार्छ र मिर्गौलालाई सोडियम निष्कासन गर्न लगाउँछ । धेरै अध्ययनले पोटासियमको मात्रा बढी भए रक्तचाप घट्ने र उपयुक्त स्तरमा रहने देखाएका छन् । अहिले स्वास्थ्य निकायहरूले वयस्कका लागि दैनिक ४७ सय मिलिग्राम पोटासियम र १२ सयदेखि १५ सय मिलिग्राम सोडियम आवश्यक पर्ने सुझाएका छन् ।

यी दुवै पोषक तत्वले एकसाथ काम गर्छन् । पोटासियमको मात्रा बढाउन पर्याप्त मात्रामा फलफूल र सागसब्जी खानुपर्छ । सामान्यतया फलफूल र सागसब्जीबाटै सोडियमको आवश्यक मात्रा पुग्ने भएकाले दैनिक उपभोग गर्ने नुनको मात्रा घटाउनुपर्छ ।

भिटामिन बी १२ र फोलेट
भिटामिन बी १२ र फोलेट (भिटामिन बी समूहको एउटा भिटामिन) ले एकसाथ काम गर्छन्। भिटामिन बी १२ ले फोलेट पचाउन शरीरलाई सघाउँछ । दुवैले कोष विभाजन र कोष वृद्धिमा एकसाथ सघाउछँन् ।

यी दुवै पोषक तत्व बाल्यावस्था र युवावस्थामा बढी महत्वपूर्ण छन्, किनभने त्यसबेला शारीरिक तथा मानसिक विकास हुन कोष विभाजन र कोष वृद्धि प्रक्रिया सबैभन्दा बढी हुन्छ । यसबाहेक हाम्रो पेट र कपालका कोषहरू प्रायजसो विभाजन र वृद्धि भइरहेका हुन्छन् । मासु, अन्डा र दूधमा पर्याप्त मात्रामा भिटामिन बी १२ पाइन्छ। हरिया सागसब्जी, गेडागुडी (बोडी, सिमी आदि) मा फोलेट प्राकृतिक रूपमा पाइन्छ ।

माछामासु र जनाबरबाट उत्पादित खाद्य सामग्री नखानेहरूमा भने भिटामिन बी १२ को कमी हुनसक्छ । साथै पर्याप्त भोजन नगर्ने र अत्यधिक अल्कोहल सेवन गर्नेहरूमा फोलेटको कमी हुनसक्छ । फोलिक एसिड वा मल्टिभिटामिनको चक्की-क्याप्सुलले फोलेटको कमी पूरा गर्न सकिन्छ। भिटामिन बी १२ को कमी भने केही समय इन्जेक्सन वा चक्की-क्याप्सुल खाएर पूरा गर्न सकिन्छ ।

यी दुवै वा दुवैमध्ये एउटा पोषक तत्वको कमी भए ‘माइक्रोसाइटिक एनिमिया’ हुन्छ । भिटामिन बी १२ को कमी हुँदा जीउ सिरिङ्ग हुने र स्मरण शक्तिमा ह्रास आउने हुनसक्छ ।

जिंक र कपर
यी दुवै पोषक तत्वले संयुक्त रूपमा काम गर्दैनन्, बरु प्रतिस्पर्धी हुन् । त्यसैले शरीरमा उपयुक्त अनुपातमा जिंक र कपर हुनुपर्छ। जस्तो कि, शरीरमा जिंकको मात्रा धेरै भए कपरको मात्रा घट्न थाल्छ र कपरको कमी हुन्छ ।

जिंक–कपरको अन्तर्क्रियाको सम्बन्ध दृष्टिसम्बन्धी एउटा विशेष अवस्थासँग जोडिएको छ । ‘माकुलर डिजेनेरेसन’ भनिने यो अवस्थामा दृष्टि धमिलो हुन्छ। यसलाई एआरएमडी (एज रिलेटेड माकुलर डिजेनेरेसन) पनि भनिन्छ। यसले अन्ततः दृष्टिविहीन बनाउँछ । यस्तो अवस्थामा बिरामीलाई भिटामिन र खनिज एकसाथ दिइन्छ, जसलाई ‘एआरइडिएस’ भनिन्छ । भिटामिन र खनिज मिसाएर गरिने सेवनले एआरएमडीलाई छिटो बढ्न दिँदैन ।

नाइसिन र ट्रिप्टोफ्यान
नाइसिन पनि भिटामिन बीमध्येको एउटा भिटामिन हो । पुरुषलाई  दैनिक १६ माइक्रोग्राम र महिलालाई १४ माइक्रोग्राम नाइसिन चाहिन्छ । नाइसिनको कमीले पेलाग्रा, झाडापखाला र डिमेन्सिया (विस्मृति) जस्ता रोग लाग्छन् । यसैगरी, ट्रिप्टोफ्यान एउटा एमिनो एसिड हो र यो नाइसिनको स्रोत पनि हो। त्यसैले नाइसिनको कमी पूरा गर्न ट्रिप्टोफ्यान प्रसस्त पाइने खानेकुरा खानुपर्छ ।

कुखुराको मासु, टर्कीको मासु, रातो मासु, माछा, अन्डा, विभिन्न बदाम, सूर्यमुखीको बीउ, फर्सीको बीउ, चकलेट, ओट (जौको चिउरा), सुक्खा फलफूल-छोगडा, दूध, दही र चिज लगायत खानेकुरामा प्रशस्त ट्रिप्टोफ्यान पाइन्छ । -एजेन्सी 

तपाईको प्रतिक्रिया