बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो – बलिउडका ख्यातीप्राप्त गायक एवं संगीतकार हिमेश रेशममिया एक साँगीतिक कार्यक्रमका लागि जापान आउने भएका छन् ।
बलिउड स्टार हिमेश ८ जनाको टोलीसहित टोकियोमा हुने एक साँगीतिक कार्यक्रमका लागि जापान आउन लागेका हुन् । उक्त कुरा टोकियोमा आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । गोल्डेन वीकको लामो बिदाको अवसर पारेर आगामी मे को ६ तारिखका दिन हिमेश लाईभ इन टोकियो हुन लागेको हो ।

सनराईज प्रोडक्शनले सक्सीस अब्रोड स्टडीजको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गर्न गईरहेको सनराइज प्रोडक्शनका कार्यकारी प्रमुख रविन्द्र श्रेष्ठले जानकारी दिए । भारतीय चलचित्रको नेपाली बजारमा परेको प्रभावलाई ध्यानमा राख्दै बलिउडका सेलिब्रेटीहरुको लाइभ कार्यक्रममार्फत जापानका नेपालीहरुलाई मनोरञ्जनमा नयाँपन दिन खोजिएको श्रेष्ठले बताए ।

सक्सिस अब्रोड स्टडिजका प्रवन्ध निर्देशक भुवन हुँमागाईको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको आसनबाट बोल्दै ब्यवसायी दिपक सुबेदीले मनोरञ्जनात्मक कार्यक्रमका अतिरिक्त अब जापानको नेपाली समुदायमा मोटीभेशनल कार्यक्रमहरुको पनि आवश्यक भईसकेको विचार ब्यक्त गरे । प्रमुख प्रायोजक कम्पनी दिप वेका प्रबन्ध निर्देशक समेत रहेका सुबेदीले कार्यक्रमलाई सफल पार्न आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेले विगतमा पनि सफल कार्यक्रमहरु सम्पन्न गरिसकेको टिमले हिमेश लाइभ इन टोकियो आयोजना गर्ने उच्च साहसको सह्राना गर्दै सफल्ताको कामना गरे ।

यसैगरी पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्लले लामो समयदेखि नेपाली समुदायबीच जापानको रंगमञ्चमा नेपाली कलाकारहरुको मात्र प्रस्तुती रहँदै आएकोमा भारतीय सेलिब्रेटीहरु आमन्त्रण गरेर आयोजक टिमले नयाँ अध्यायको सुरुवात गरेको बताए ।

एनआरएन आइसीसीका सदस्य एवं जेएमई प्रमुख ओम गुरुङले कार्यक्रम सभ्य र भब्य सफलताको कामना गरे ।
चिरपरिचित डिजे जोन छन्त्यालले जापानका नेपालीहरुले अब मनोरञ्जनमा पनि नयाँ टेष्ट खोज्ने गरेको पाईएकोले आयोजकले नयाँ इतिहाँस रच्नेमा आफु बिश्वस्त रहेको धारणा ब्यक्त गरे ।

सभापतिको आसनबाट बोल्दै भुवन हुँमागाईँले गीत र संगीतको कुनै सीमा नहुने भएकोले कहिलेकाँही बिदेशी कल्चरबाट पनि हामीले सिक्ने र मनोरञ्जन लिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रम संयोजक, म्यानेजर र वाद्यवादक सहितको ८ जनाको टोलीसहित जापान आउन लागेका हिमेशको लाईभ कार्यक्रमको तैयारीलाई विभिन्न ढंगले तिब्र पारिएको बताउँदै हालसम्म जापानमा भएका कार्यक्रमहरु मध्यकै उच्च स्तरिय एवं कुशल ब्यवस्थापनमा हुने आयोजक पक्षको दावी छ ।

’नेपाली मात्र नभएर भारतीय तथा जापानी दर्शकहरुलाई समेत लक्षित गरी हरेक हिसाबले कार्यक्रममा हामी नयाँपन दिने छौं’ – पत्रकारहरुको जिज्ञासामा सनराईजका कार्यकारी प्रमुख श्रेष्ठले भने – ’आक्रामक प्रचारप्रसार, अनलाईन टिकेटिङ, अग्रिम टिकट बुकिङ, अत्याधुनिक हलमा उच्चगुणस्तरिय ध्वनी तथा प्रकाश ब्यवस्थापन हाम्रो कार्यक्रमको बिशेषता हुने छन ।’

टोकियोको कोदाइरा स्थित रुने कोदाइरा हलमा हुने सो कार्यक्रमका लागि दर्जनौ ब्यवसायीहरुले प्रायोजन गर्ने भएका छन् ।
करिव २ हजार जना दर्शकको अपेक्षा गरिएको सो कार्यक्रममा आधा जति नेपाली र आधा भारतीय तथा अन्य बिदेशी दर्शकहरु हुने आयोजक पक्षको लक्ष रहेको छ ।

सयौं चलचित्रका गीतहरुमा आवाज दिएका र संगीत भरेका हिमेश आफै नायक तथा निर्माता पनि हुन । बलिउडको दुनियाँमा बिगत दुईदशकदेखि हिमेशको दबदबा रहँदै आएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । सम्मेलनमा पत्रकारहरुका अतिरिक्त बिभिन्न संघसंस्थाका प्रतिनिधि तथा ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।***

तपाईको प्रतिक्रिया