प्रदेश प्रमुख नियुक्ती र अस्थायी राजधानी तोक्न किन ढिलाई ?

काठमाडौं – निर्वाचन सम्पन्न भएको लामो बितिसक्दा पनि सरकारले प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी तोक्न सकेको छैन । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिना बितिसक्दा पनि प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी नतोक्दा सरकारको चौतर्फी आलोचना बढेको छ ।

निर्वाचन आयोगले प्रदेश प्रमुख सिफारिस गर्न सरकारसँग शुक्रबार ताकेता गरेको छ भने प्रमुख विपक्षी नेकपा एमालेलगायत दलले समेत विरोध जनाएका छन् । प्रमुख र मुकाम तोक्ने विषयमा प्रधानमन्त्रीले सल्लाह नगरेको भन्दै सरकारका मन्त्रीहरु नै असन्तुष्टि जनाइ रहेका छन् । सबैको सहमतिमा प्रदेश प्रमुख सिफारिस गरी र मुकाम तोक्दा यसको प्रतिक्रिया कम आउला कि भनेर सहमतिमै गर्ने प्रयास भइरहेको तर तोक्न ढिलाइ भने भएको कानुनमन्त्री यज्ञबहादुर थापा स्वीकार गर्नुहुन्छ ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूहरूले सर्वदलीय बैठकमा नै प्रदेश प्रमुख र मुकाम तोक्न सरकारलाई सुझाव दिइसकेको भन्दै ढिलाइप्रति आश्चर्य प्रकट गर्नुभयो । सरकारले प्रदेश प्रमुख र मुकाम नतोक्दा प्रदेशसभाको अन्तिम नतिजा रोकिएर बसेको छ । आयोगले निर्वाचन आयोगलाई नतिजा बुझाउनुपर्ने तर प्रमुख नहुँदा आयोगसमेत अलमलमा छ । प्रदेश प्रमुखले नतिजा राजपत्रमा प्रकाशित गर्ने तथा त्यसपछि सरकार गठनको काम सुरु हुने भए पनि सरकारको ढिलासुस्तीका कारण प्रक्रिया नै रोकिन पुगेको छ ।

सरकारले प्रदेश मुकाम नतोक्दा प्रदेशसभाको पहिलो बैठक कहाँ बस्ने भन्ने अन्योलतासमेत उति नै छ । सरकारले सहमतिमा नै प्रमुख र मुकाम तोक्न प्रतिपक्षी तथा अन्य दलसँग छलफलसमेत अघि बढाएको छैन भने सरकार आफैंले तोक्न आवश्यक तत्परतासमेत देखाएको छैन । सरकारले गत सोमबार तथा शुक्रबारको नियमित मन्त्रिपरिषद्को बैठकमा नै प्रमुख र मुकाम तोक्ने तयारी गरेको थियो । तर, सरकार अन्तिम समयमा पछि हटेको थियो ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित