थारु बस्तीमा नयाँ अध्याय शुरु गर्ने माघी पर्वको रौनक

काठमाडौं – पश्‍चिम नेपालका थारु बस्तीमा माघी पर्वको उल्लास सुरु भएको छ । थारु बाहुल्य जिल्ला दाङदेखि कञ्चनपुरसम्मको थारु वस्तीमा माघीको उल्लास बढेको हो ।

थारु समुदायमा माघीलाई नयाँ वर्षको सुरुवात गर्ने पर्वको रुपमा हर्षोल्लासका साथ मनाईन्छ । माघी पर्व मनाउन टाढा–टाढा बसेकाहरुको गाउँघरमा जमघट भएको छ भने चेलीबेटीहरु माइती घर पुगेका छन् । माघीकै अवसरमा कैलाली कञ्चनपुरका विभिन्‍न स्थानमा माघी विशेष कार्यक्रम र माघी महोत्सवको पनि आयोजना गरिएको छ ।

तीन दिनसम्म धुमधामका साथ मनाइने माघी पर्वमा मिठो खाने, राम्रो लगाउने र नाचगान गर्ने चलन रहेको छ । माघीमा थारू जातिको मौलिक पकवान ढिक्री, मासु, जाँड लगायतका परिकार खाने र खुवाउने गरिन्छ । माघीको अघिल्लो दिन आज सुँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारु भाषामा जिता मरना भनिन्छ ।

आजको रात थारु समुदाय मासु, जाँड र ढिकरी खाएर रातभर जाग्राम बसी सखिया नृत्यमा रमाउने गरेको थारु महिला सुनदेबी चौधरीले बताईन् । थारु समुदायले माघीकै अवसरमा बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना बनाउने गर्छन् । यसका साथै गाउँको नेतृत्वकर्ता अर्थात बड्घर, भल्मन्सा लगायत माघ महिनामै चयन गर्ने गर्दछन् । माघीका अवसरमा थारुवस्तीमा माघौटा, सखिया र झुमरा नाच गुन्जीन थालेपछि उल्लास झनै बढेको छ ।

थारुहरुमा यो पर्व मनाउने क्रममा माघ १ गते नजिकैको नदी, तलाउ तथा पोखरीमा नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रहरुलाई भेटघाट गर्ने, ठूलाबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने प्रचलन रहिआएको छ । मकर संक्रान्तिका दिन नुहाउँनाले वर्षभरी गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पूण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित