केसीले अनसन तोडे, जुत्ता सिलाउने नथुनियाले पिलाए जुस

काठमाडौं – त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीले अनशन तोड्नुभएको छ । त्रिवि शिक्षण अस्पतालअघि जुत्ता सिउँदै  आउनुभएका सिराहा सखुवानान्कारकट्टी गाउँपालिका २ का ४८ वर्षीय नथुनीया मोचीले जुस खुवाएसँगै डा. केसीले आफ्नो १४ औं अनशन तोड्नुभएको हो ।

मोची अस्पतालमा उपचारका लागि आएका विरामी हुन् । अनसन तोड्नुअघि पत्रकार सम्मेलन गर्दै केसीले सहमति कार्यान्वयन नभइन्जेल खबरदारी जारी नै रहने बताउनुभएको छ ।

उहाँले फागुन ८ गतेसम्म प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा नआए पुन: अनशन सुरु गर्ने चेतावनी समेत दिनुभएको छ । गत सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै  डा केसीले अनशन सुरू गर्नुभएको थियो ।

गएराति केसी पक्ष र नेपाल सरकारबीच पाँच बुँदे सम्झौता भएपछि केसीले आज अनशन तोड्न्भएको हो । सहमती अनुसार चिकित्सा शिक्षा आयोग एक साताभित्रमा गठन गर्ने, सर्वोच्च अदालतको आदेश अनुसार आइओएमका डीनमा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिने, त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधा लगायतका ५ वटा बुँदा समेटिएका छन् ।  अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका केसीलाई बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित