प्रदेश प्रमुख नियुक्ति छिटो गर्न सरकारलाई आयोगको पुनःआग्रह

काठमाडौं – निर्वाचन आयोगले प्रदेशसभा सदस्यको निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने भएकाले प्रदेश प्रमुख नियुक्ति गर्न सरकारसँग आग्रह गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा भई निर्वाचन कार्यतालिका समेत प्रकाशित भइसकेको हुनाले तत्काल प्रदेश प्रमुखको नियुक्ति गर्न आग्रह गरिएको उल्लेख छ । प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको नतिजा प्रदेश प्रमुख समक्ष बुझाउनु पर्ने व्यवस्था रहेको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

‘राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति घोषणा भई निर्वाचन अधिकृतको नियुक्ति, कार्यालय स्थापना र कार्यक्रम सञ्चालन प्रक्रिया प्रारम्भ भइसकेको तर हालसम्म प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेश सभा सदस्य निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने कानूनी बाध्यताका कारण राष्ट्रियसभा सदस्यको निर्वाचन प्रक्रियामा समेत प्रभाव पर्न सक्ने सम्भावना देखिएकोले निर्वाचन आयोग प्रदेश प्रमुखको नियुक्ति हुन नसकेको अवस्थाप्रति गम्भीर भएको छ,’ आयोगको निर्णयमा भनिएको छ ।

त्यसैगरी राष्ट्रिय सभा सदस्यको निर्वाचन २०७४ माघ २४ गते हुने गरी नेपाल सरकारबाट निर्वाचनको मिति तोके पश्चात् आयोगले सोको तयारी अगाडि बढाएको जनाएको छ । पुस २७ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको कार्यालय स्थापना भइ सकेको र पुस २९ गते सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी आयोगले निर्वाचनको कार्यतालिका र निर्वाचन कार्यक्रम समेत स्वीकृत गरिसकेको छ । स्वीकृत कार्यक्रम अनुसार माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने, माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र माघ १५ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित