‘अरु कम्युनिष्ट पार्टीलाई पनि एक बनाउन पहल भइरहेको छ’

म्याग्दी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताउनुभएको छ ।

माओवादी केन्द्रले आज बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष दाहालले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै देश विकासमार्फत समृद्धि हासिल गर्ने बाटोमा अघि बढेको बताउनुभयो । ‘धेरै अप्ठ्यारा, चुनौती र दबाबको सामना गर्दै हामीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफल पार्यौँ’, पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका दाहालले भन्नुभयो, ‘अब देश विकास, समृद्धि र सुशासन कायम गराउने प्रमुख दायित्व पूरा गर्छौं ।’

वाम एकतालाई जनताले अनुमोदन गरिसकेकाले एमाले र माओवादीसँगै अन्य कम्युनिष्ट पार्टीलाई समेत केन्द्रीकृत गर्न पहल भइरहेको उहाँले बताउनुभयो । वाम एकताको खाका तयार पार्ने काम भइरहेको र यसले छिट्टै पूर्णता पाउने प्रचण्डको भनाइ थियो ।  अध्यक्ष दाहालले वाम गठबन्धनको सरकारले म्याग्दीको विकासका लागि पर्यटन, जलविद्युत्, सडक, शिक्षा, स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित