जापानमा घरदेश र परदेशका साथै प्रेमिल रचनाहरु गुञ्जिए

‘अनिद्रा आँखा बोकेर परदेशबाट
दरिद्र विचार बोकेर घरदेशबाट
कल्पिरहेछु एउटा सुन्दर समाज, जुन घरदेशमा बन्न लागिरहेको छ’
कवि लोकनाथ अधिकारीले जापानमा रहेर पनि आफ्नो जन्मभूमिको सुन्दर समाजको कल्पना गर्दा अर्का कवि पार्थ सुवेदीले आफू सूर्योदयको मूलुक जापानमा रहँदा पनि मनको डाक्टर र मनकै ओखतीको अभाव रहेको गुनासो सुनेपछि मनोचिकित्सक विजय ज्ञवालीले घरदेश र परदेश जोड्ने समन्वयात्मक सृजनाहरु नेपाली मौलिक पात्रहरुको चित्रण गरेर साहित्यिक स्रष्टाहरुले दिन सकेमा अलिकति मनलाई शान्ति मिल्ने बताउनुभयो ।

परदेश हुंदा पनि घरदेशको माया कति हुन्छ भन्ने कुराको उदाहरण दिपकबाबु नेपालले आफ्नो देशको झण्डा कहिल्यै झुक्न नदिन र युवाहरुलाई सत्मार्गका हिड्न आग्रह गर्दै हेर युवा तिमी बिग्रिए, देश बिग्रिन्छ, देश बिग्रिए भेष, कला बिग्रिन्छ त्यसैले आफ्नो ठाँउबाट समाजका लागि केहि गरेर देखानुपर्ने बताउनुभयो ।
उहाँको आग्रह सुनेपछि युवा स्रष्टा मिनराज बास्तोलाले आफुलाई आमा र माटोको माया बराबर लाग्ने बताउँदै सृजनामार्फत भन्नुभयो–
आजकाल सडक पेटी रहर जस्तै लाग्छ
मलाई खुल्ला आकाश घरजस्तै लाग्छ
मुग्लानी हुदैमा कोही पलायन हुदैन
मलाई आमा र माटोको माया बराबर लाग्छ
प्रवासी नेपाली मञ्चका अध्यक्ष समेत रहेका महेन्द्र श्रेष्ठले कवितामार्फत नै देशमा स्थायी सरकार र समृद्ध नेपाल नेपालीहरुको चाहना भएको बताउनुभयो ।
अर्का कवि बलराम उपाध्यायले नेपालीहरु परदेशिनुको पीडालाई अक्षरहरुमा उन्दै भन्दै हुनुहुन्थ्यो
खुशीको खोजीमा
रंगीन सपनाहरुको झोला बोकेर पहाड उक्लन थाल्छ
भीमकाय पहाड पसिना पुछ्दै बुढी आमाको सपना सम्झदै ……
उपाध्यायको कुरा सुनेपछि शिवराज राईले कमाउन कै खातिर धेरै हतारमा छौ तिमी, सम्बन्धको लागि दोधारमा छौ तिमी …… नेपालीहरुको परदेशमा रहँदाकोे पीडा सम्बन्धमा भन्दा पनि आम्दानीमा बढ्ता ध्यान दिनुपर्ने बाध्यतालाई यथार्थपरक ढंगले प्रस्तुत गर्दा सबैलाई नतमस्तक बताउनुभयो ।
साहित्यिक माहौलमा घरदेश र परदेशका साथसाथै प्रेमिल मनका आवाजहरुलाई पनि कलात्मक ढंगले अक्षरहरुमा उनिएको थियो ।
गजलकार आनन्द अधिकारीले आजभोलिको यथार्थ अवस्थालाई चित्रण गर्दै ‘ प्रिया असल पति बन्न बाआमा आश्रम रखेकोे छु’ भन्दा सबैलाई झसङ्ग पार्नुभएको थियो ।
सधै आमा र घरदेशलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने संगिता कुवँरले आजको कार्यक्रममा प्रेमिल गजल वाचन गर्दा सबैलाई दंग पारेकी थिइन् ।
रविन शर्माको ओझदारपूर्ण रचना बाचनले सबैको ध्यान केन्द्रीत गरेको थियो ।

यसरी साहित्यकारहरुको लागि चौतारीको निर्माण गर्ने कामको जोहो अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको ४३ औं साहित्य श्रृङ्खलाले गरेको थियो ।
सो साहित्यिक चौतारीमा ग्रिष्मा पौडेल, मञ्जु गिरी, पर्वत राई, हेमन्त गिरी, फडिकान्त आचार्य लगायतले आफ्ना रचना बाचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका अनेसास केन्द्रका पूर्व अध्यक्ष डा. कुमार बस्नेतले सिर्नानालाई परिर्वनसँग जोडेर लैजानुपर्ने बताउनुभयो । वरिष्ठ सितारवादक तथा साहित्यकार सुष्मा ओमाताले साहित्यले मानिसलाई सधै जागरुप बनाइराख्ने बताउनुभयो । त्यसैगरि गैर आवासीय नेपाली संघ जापानका उपाध्यक्ष शिव पौडेलले साहित्य समाजको दर्पण भएकोले सोही बमोजिमका सिर्जना सुन्न पाउदा खुशी लागेको बताउनुभयो ।

कार्यक्रममा साहित्यकार तथा पत्रकार बेलु थापाले अनेसासले सबै साहित्यिक मनहरुलाई एक ठाउँमा जोड्ने काम गरेर चौतारीको रुपमा विकसित हुदै गएको देख्न पाउँदा आफुलाई गर्व लागेको बताउनुभयो । अनेसास जापानका विष्णुप्रसाद घिमिरे, दिनेशराज ज्ञवाली, गायक युवराज आचार्य  लगायतले नेपाली साहित्यलाई अन्तरराष्ट्रियस्तरको बताउनका लागि सर्जकहरुले गुणात्मकतामा ध्यान दिन आग्रह गर्नुभयो । त्यसैगरि पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेले परदेशका साहित्यिक सिर्जनाहरुले मनलाई आनन्दित पर्ने खालका भए अझै राम्रो हुनेमा जोड दिनुभयो ।
अंग्रेजी नयाँवर्ष २०१८को शुभकामना आदानप्रदानका लागि समेत आयोजना गरिएको सो कार्यक्रमको अध्यक्षता अनेसास जापान च्याप्टरका अध्यक्ष दिप पाठक, स्वागत रविन शर्मा र संचालन महासचिव अरुण पौडेलले गर्नुभएको थियो । ***

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित