शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपश्चातको पहिलो आम निर्वाचन हालै सम्पन्न भएको छ । ऐतिहासिक निर्वाचन मार्फत नेपाली जनताले राजनैतिक दलहरुलाई स्पष्ट सन्देश प्रवाह गरेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओबादी केन्द्रबीच अप्रत्याशितरुपमा भएको वाम गठबन्धनको पक्षमा चुनावी नतिजा आएको छ । निर्वाचन परिणामले नेकपा एमाले पहिलो शक्तिकारुपमा उदाएको छ भने पटक पटक सरकारको नेतृत्व गरेको नेपाली काँग्रेसलाई प्रत्यक्षतर्फ तेस्रो दलमा खुम्चाईदिएको छ । माओवादी केन्द्र भने तेस्रोबाट दोस्रो दल बन्न सफल भएको छ ।

निर्वाचनको परिणामलाई हेर्दा नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व नेपाली काँग्रेसले गरेको र गणतान्त्रिक आन्दोलनको नेतृत्व माओबादीले गरेको सन्दर्भमा अब आर्थिक समृद्धिको नेतृत्व गर्न नेपाली जनताले नेकपा एमालेलाई म्यान्डेट दिएका छन् । विगतलाई हेर्ने हो भने पनि नेपाली जनताले २०४८ मा नेपाली काँग्रेसलाई, २०५१ मा एमालेलाई, २०५६ मा फेरि नेपाली काँग्रेसलाई, २०६४ मा माओबादीलाई र २०७० मा पुनः नेपाली काँग्रेसलाई ठूलो दल बनाएर सरकार सञ्चालन गर्ने जनादेश दिएका थिए । विगतको लामो संसदीय अभ्यासमा मुख्य तीन दलहरुलाई आलोपालो प्रमुख जिम्मेवारीमा पुर्‍याउँदै आएका नेपाली जनताले यसपटक नेकपा एमालेलाई सबैभन्दा ठूलो शक्तिकारुपमा सरकारको नेतृत्व गरी दिगो शान्तिसहित बिकास र समृद्धिलाई अगाडि बढाउने जिम्मेवारी दिएका छन् ।

यसैगरी इतिहासमै सबैभन्दा शर्मनाक हार ब्यहोर्नुपरेको नेपाली काँग्रेसलाई यसपटक जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै पार्टीभित्र ब्यापक सुधार गर्न निर्वाचनले सन्देश दिएको छ । बदलिएको परिस्थितिअनुसार नेपाली काँग्रेसले मतदातालाई आकर्षित गर्ने बिकाउ एजेण्डा केही दिन सकेन । वामगठबन्धनको आक्रामक नारा र एजेण्डाको तुलनामा काँग्रेसका पुराना र केही अपत्यारिला कुराले मतदाता तान्न नसक्दा शीर्षस्थ तहका हेवीवेट अनुहारहरुले पनि अनपेक्षित पराजय भोग्नुपर्‍यो । उसो त देउवा सरकारको जम्बो मन्त्रीमण्डल, आचारसंहिता विपरित चुनावकै मुखमा गरिएको सरुवा बढुवा, आफ्नै सरकारमा रहेका मन्त्रीहरुलाई बिना बिभागीय बनाईएका जस्ता अलोकप्रिय निर्णयहरु पनि नेपाली जनताले त्यति मन पराएका थिएनन् । जसको फलस्वरुप सत्तारुढ पार्टी पराजय मात्र नभएर काँग्रेसभित्रका पहिलो पुस्ताका पाका नेताहरुलाई विश्राम लिन समेत निर्वाचनमार्फत दवाव परेको छ ।

यसैगरी प्रत्यक्षमा १ सिट र समानुपातिकमा सदर मतको ३ प्रतिशत मत पाउने पार्टी मात्र राष्ट्रिय पार्टीको मान्यता पाउने थ्रेस होल्डको प्रावधानअनुसार यस पटक थुप्रै साना पार्टीहरुको राजनीति अन्त्य हुने भएको छ । यो प्रावधानसंगै सँधै सरकारमा मन्त्रीको बार्गेनिङ गर्न पल्केका १ सिटे पार्टीको चलखेल पनि समाप्त हुनेछ । यो पनि निर्वाचनको अर्को महत्वपूर्ण सन्देश मान्न सकिन्छ ।

अवको अग्नीपरीक्षा भनेको दुइतिहाई बहुमत प्राप्त वाम गठबन्धन सरकारको हो । चुनावी तालमेल हुँदै पार्टी एकतासम्मको वाचा गरेका वामगठबन्धनका शीर्ष नेताहरुसामु अहिले सरकार गठन र पार्टी एकता गरेर देखाउने दोहोरो चुनौती छन् । चुनावलाई प्रभावित पार्न बडो सजिलोसंग पार्टी एकताको उदघोष गरेका नेताहरुलाई अब तिक्ततापूर्ण विगत रहेको दुई पाटीलाई साँच्चिकै एउटै पार्टी बनाउन त्यति सहज हुने छैन । फरक फरक पृष्ठभूमि र स्कुलिङबाट आएका नेता कार्यकर्तालाई एउटै छानामुनि मिलाएर राख्न वामगठबन्धनका प्रमुख नेताद्वय केपी र पिकेलाई निकै सकस पर्ने देखिन्छ । अर्कोतिर राजनैतिक स्थायित्व, सुशासन, बिकास र समृद्धिका कुरा चुनावी घोषणा पत्रमा लेखेजस्तो त्यति सहजै प्राप्त हुने छैनन् । सरकार सञ्चालनको केही समयभित्रै जनताले अनुभूत हुने गरी परिवर्तनका संकेतहरु सतहमा देखिएनन् भने नेपाली जनता अब पक्कै चुप लागेर बस्ने छैनन् । त्यसकारण पनि नेपाली जनतालाई केन्द्रमा राखेर जबाफदेहिता सहितको सुशासन कायम गर्नु अब बन्ने बाम सरकारको प्रमुख दायित्व हो । बिजयको उन्मादले मात्तिएर हैन अन्य साना दलहरु र प्रतिपक्षलाई समेत बिश्वासमा लिएर नेपाली जनताले दिएको जनादेशलाई शिरोधार्य गर्दै आर्थिक समृद्धिको दिशामा मुलुकलाई तिब्र गतिमा अगाडि बढाउनु अब बन्ने सरकारको मुलभुत कर्त्तब्य हुने छ ।***

तपाईको प्रतिक्रिया