बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रिएट्सले शानदार जित हात पारेको छ ।

ललितपुरले काठमाडौं किंग्स इलाभेनलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो । प्रतियोगिताको पहिलो दिन सोमबार टियु क्रिकेट मैदानमा ९० रनको झिनो लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको ललितपुरले १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । ललितपुरका लागि ओपनर जयकिसन कोल्सवालाले उत्कृष्ट प्रदर्शन गर्दै नटआउट ४४ रन बनाएसँगै जित हात पारेको हो ।

ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए । त्यस्तै, राजविर सिंह १४ रनमा अविजित रहे । ४ रन हुँदा ओपनर पवन सर्राफलाई गुमाएको ललितपुरका लागि योगेश नगरले २ रन बनाए । यता, काठमाडौंका सोमपाल कामीले आफ्नो दोस्रो बलमा नै पवन सर्राफलाई बोल्ट गर्दै उत्कृष्ट सुरुवात गराएका थिए । सोमपालले १ विकेट लिए भने अक्सु फर्नान्डोले २ विकेट लिए पनि ललितपुरलाई रोक्न भने सकेन ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले खराब प्रदर्शन गर्दै ८९ रनमात्रै बनाउन सक्यो । काठमाडौं १८.३ ओभरमा अलआउट हुँदै ८९ रनको सामान्य स्कोर बनाएको थियो । काठमाडौंका लागि ओपनर अमित श्रेष्ठले २७ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । काठमाडौंका लागि अक्सु फर्नान्डोले १५ र सोमपाल कामीले १४ रनको योगदान दिए । श्रीलंकाली चर्चित खेलाडी तथा काठमाडौंका कप्तान परवेज महारुफले भने ७ रन बनाएर आउट भए ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा ललितपुरका भारतीय खेलाडी सुबोध भाटीले ४, ललित नारायण राजवंशीले ३ र भेट्रान खेलाडी मेहबुब आलमले २ विकेट लिए । ४ ओभर बलिङ गर्दै मात्र १४ रन दिएर ३ विकेट लिएका ललित म्यान अफ म्याच घोषित भए ।

प्रतियोगिताको दोस्रो दिन मंगलबार २ खेल हुँदैछन् । पहिलो खेलमा चितवन टाइगर्सले पोखरा राइनोजसँग विहान ९ बजेदेखि प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, दोस्रो खेलमा विराटनगर वारिवर्सले ललितपुर प्याट्रिएट्ससँग खेल्दैछ । इपिएल क्रिकेट राउन्ड रोविन लिगका आधारमा हुनेछ ।

शीर्ष चार टोली प्लेअफमा पुग्ने छन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ । इपिएलको विजेताले २१ लाख प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया