शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार, हाम्रो सरोकार’ भन्ने नारासहित विविध कार्यक्रमको आयोजना गरी आज अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस नेपालमा पनि मनाइँदैछ ।

दिवसको अवसर पारेर श्रम तथा रोजगार मन्त्रालयले आज काठमाडौंमा प्रभातफेरी र सभाको आयोना गरेको छ। सभामा श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मन्सुरले विविध कारणले विदेशिएका नेपाली आप्रवासी कामदारको अधिकारप्रति सरकार संवेदनशील रहेको बताउनुभयो । नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौताका लागि सरकारले विशेष पहल गरिरहेको र हालैमात्र जोर्डनसँग श्रम सम्झौता गर्न सफल भएको जानकारी दिनुभयो ।

श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली चौधरीले नेपालको विद्यमान श्रम गन्तव्यलाई विकेन्द्रित गर्दै विकसित मुलुकमा कामदार पठाउन मन्त्रालयले अध्ययन अघि बढाएको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले आजबाट आयोगले वैदेशिक रोजगार पीडितको उजुरी लिन शुरुवात गरेको जानकारी दिनुभयो । श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनालीले वैदेशिक रोजगारको ठगी घटाउन र पीडित कामदारलाई न्यायमा पहुँच बढाउन मन्त्रालयले सुधारका कार्यक्रम शुरु गरेको बताउनुभयो ।

सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवास दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम मानवअधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्यसहित यो दिवस विश्वभर मनाइने गरेको छ ।

तपाईको प्रतिक्रिया