ओली र दाहालले भने, हामीलाई अध्यक्ष र प्रधानमन्त्रीको लोभ छैन

काठमाडौं – वाम गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवाका पछिल्ला अभिव्यक्ति र गतिविधि लोकतन्त्रविरुद्ध भएको बताएको छ ।

प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणामा आइसकेपछि पहिलो पटक आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गठबन्धनले प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई स्वस्थ्य ढंगले अगाढि बढाउने कुरामा व्यवधान हुने गरी अभिव्यक्ति दिने गरेको बताएको हो ।

पत्रकार सम्मेलनमा वाम गठबन्धनका नेता तथा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री देउवाले लोकतान्त्रिक मुल्य र मान्यताविपरित प्रधानमन्त्रीबाट अभिव्यक्ति आउनु सकारात्मक नभएको बताउनुभयो । उहाँले खासगरी राष्ट्रिय सभा गठनका विषयमा प्रधानमन्त्रीले पछिल्लो समय गरेको चलखेल उपयुक्त नभएको बताउनुभयो ।

ओलीले यो राष्ट्रिय महत्वको विषयमा दलहरुसँग परामर्श गर्न जरुरी हुन्छ हुदैन भन्दै प्रश्न गर्नुभयो । उहाँले सरकारले खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्न लागेको भन्दै खेलको विचमा नियम बनाउन नमिल्ने बताउनुभयो । ‘खेल शुरु नहुँदै निमय बनाइन्छ । खेल शुरु भएपछि विचमा आएर नियम परिवर्तन गर्न पाइन्छ ?’ ओलीले भन्नुभयो ।

‘हामी दुबैलाई प्रधानमन्त्रीको लोभ छैन’
फरक प्रसंगमा अध्यक्ष ओलीले एमाले माओवादी पार्टी एकीकरण छिट्टै हुने भन्दै त्यो समय धेरै टाढा नभएको बताउनुभएको छ । एमाले र माओवादीबीच निकट भविष्यमै पार्टी एकता हुने भन्दै अध्यक्ष को बन्ने भन्ने विषय ठूलो नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

अब पार्टी अध्यक्ष को हुने भन्ने प्रश्नको जवाफ दिदैं ओलीले भन्नुभयो, ‘पार्टी एकता चाँडै हुन्छ । अध्यक्ष को बन्ने भन्ने विषयमा चाहिँ अध्यक्ष चाहिएको भए म एमालेको अध्यक्ष छँदै छु । प्रचण्डजी माओवादीको अध्यक्ष नै हुनुहुन्छ ।’

वाम गठबन्धनको सरकार बन्ने निश्चित भइसकेको अवस्थामा भावी प्रधानमन्त्री को त ? यस प्रश्नको जवाफ भने ओलीले दिनु भएन ।

उहाँको पालो सकिनेवित्तिकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस प्रश्नको उत्तर छुटेको उल्लेख गर्दै भन्नुभयो, ‘हामी दुबै प्रधानमन्त्री भइसकेका छौं, हामीलाई कुनै लोभ छैन ।’

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित