शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७७ जिल्लाको मतगणना सकिएको छ ।

मतपरिणाम अनुसार एमालेले कांग्रेस भन्दा ४५ हजार १०५ मतले बडी ल्याएको छ । एमालेले ३१ लाख ७३ हजार ४९४ मत प्राप्त गरेको छ भने कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत प्राप्त गरेको छ । चौथो र पाँचौँमा मधेसवादी दल बनेका छन् ।

चौथोमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७२ हजार २११ र संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार ३ मत प्राप्त गरेका छन् । विवेकशील साझा, नयाँ शक्ति र यसअघि संसदमा प्रतिनिधित्व गरेका कुनै पनि दलले थ्रेसहोल्ड कटाउन सकेनन् ।  कानुनतः थ्रेसहोल्ड पूरा गर्न कुल सदर मतको ३ प्रतिशत मत कटाउनुपर्छ । विवेकशील साझाले २ लाख १२ हजार ३१८ र राप्रपाले १ लाख ९६ ३५४ मत हासिल गरे । नवौँ स्थानमा रहेको नयाँ शक्तिले ८१ हजार ५६८ मत प्राप्त गरेको छ ।

दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ । सबै गणना सकिँदा उल्लिखित सिट संख्यामा सामान्य मात्र हेरफेर हुन सक्ने आयोग स्रोतले जनाएको छ ।

प्रतिनिधिसभामा भने प्रत्यक्षतर्फ एमालेले ८०, माओवादी केन्द्रले ३६, कांग्रेसले २३, राजपाले ११, संघीय समाजवादी फोरमले १०, नयाँ शक्ति पार्टी, नेपाल, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले एक-एक सिट जितेका छन् ।

तपाईको प्रतिक्रिया