शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – जारी दोस्रो मनमोहन स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगितामा मनाङले आर्मीलाई २-१ ले हराउँदै उपाधि आफ्नो नाममा पारेको हो । मनाङका लागि विमल राणाले निर्णायक गोल गरे ।

खेलको १६ औं मिनेटमा नवयुग श्रेष्ठले आर्मीका लागि गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यसको दश मिनेटमै मनाङका विशाल राईले गोल गर्दै टोलीलाई खेलमा फर्काए । पहिलो हाफ १-१ को बराबरीमा टुङ्गिए पनि मनाङले दोश्रो हाफमा एक गोल थप्दै खेल उल्टाएको थियो । ५९ औं मिनेटमा विमल राणाले गरेको गोल मनाङलाई वर्षको दोस्रो उपाधि दिलाउन सफल रह्यो ।

अघिल्लो महिना भएको दुवै फाइनलमा आर्मीले बाजी मारेको थियो । मंसिर ७ गते सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा मनाङलाई हराएको आर्मीले मंसिर १५ गते मेची नेत्रालय काकरभिट्टा गोल्ड कपमा पनि पुनः हराएको थियो । वैशाखमा आर्मीले वीरगन्जमा विशाल स्मृति गोल्ड कप र भदौंमा मनाङले चितवन पुगेर जेसिज कपको उपाधि उचालेको थियो ।

मनमोहन स्मृति प्रतिष्ठान र इलेभन एरोजको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेता टोली मनाङले उपाधिसहित ४ लाख १ हजार रुपैयाँ पनि प्राप्त गर्‍यो ।

तपाईको प्रतिक्रिया