शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा वाम गठबन्धनबाट प्रतिनिधि र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिहरुको बधाई ज्ञापन तथा चियापान समारोहमा बोल्दै दाहालले पूर्वसहमतिअनुरुप एमाले र माओवादी केन्द्रको एकतालाई अन्तिम रुप दिनुको विकल्प नभएको बताउनुभएको हो ।  ‘निर्वाचन अगाडि एकता गर्न नभ्याइएकोले वाम गठबन्धनका गरेका थियौं, हामी झन्डै दुई तिहाई बहुमत नजिक पुगेका छौं’ उहाँले भन्नुभयो, ‘अब एकता प्रक्रियालाई अन्तिम रुप दिन्छौं ।’

वाम गठबन्धन देशका अधिकांश निर्वाचन क्षेत्रमा जिताउन सहयोग गर्ने दुवै पार्टीका नेता, कार्यकर्ता र मतदातालाई धन्यवाद दिँदै दाहालले आगामी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । वाम गठबन्धन दुई तिहाईको नजिक पुग्नुमा एमाले र माओवादीको ‘फ्युजन’भन्दै दाहालले एक अर्काको सहयोगबिना सम्भव नहुने उल्लेख गर्नुभयो ।

निर्वाचन परिणामले देशमा स्थायित्व, विकास र समृद्धिका लागि बढी जिम्मेवार हुनुपर्ने बोध गराएको भन्दै दाहालले यसलाई नयाँ ऐतिहासिक युगको सुरुआत र अवसरको रुपमा टिप्पणी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया