बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – यातायात व्यवस्था विभागले आगामी चैतदेखि २० वर्ष आयु पार गरिसकेका सबै सार्वजनिक सवारीलाई देशैभरि गुड्न नदिने गरी प्रतिबन्ध लगाउने भएको छ ।

इलेक्ट्रिक, ग्यास टेम्पो र माइक्रोको हकमा भने यो प्रतिबन्ध लागू हुने छैन । अहिले ग्रामीण सडकहरुमा २० वर्ष पुराना सार्वजनिक सवारी उल्लेख्यमात्रामा संचालित छन् । काठमाडौंबाट हटाइएका सवारी पनि उपत्यकाबाहिर विभिन्न ग्रामीण रुटमा लगेर चलाइँदा ग्रामीण भेगमा चल्ने सवारीमा दुर्घटनाको जोखिम पनि बढाइरहेको छ ।

आगामी चैतबाट भने अटेर गरेर त्यस्ता गाडी गुडाइरहे व्यवसायी कारवाहीको भागिदार हुने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिनुभयो । सरकारको निर्णयअनुसार आउँदो चैतदेखि २० वर्षे पुराना सवारीलाई कुनैपनि रुटमा चल्ने इजाजत नदिइने विभागले बताएको छ । अहिले प्रत्येक ४-४ महिनामा सार्वजनिक सवारीले रुट नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

चैतपछि २० वर्ष आयु नाघेका सबै किसिमका सवारी करहरु समेत नबुझिने पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस्ता सार्वजनिक सवारीको अब प्राविधिक परीक्षण पनि गरिने छैन । अहिले कवाडीमा बेच्नुपर्ने झन्डै ५ हजार सार्वजनिक सवारी गुडिरहेको अनुमान विभागको छ । तर, एकीन तथ्यांक नभएकाले यो संख्या १० हजारसम्म हुन सक्ने अनुमानन उपभोक्ताकर्मीको छ ।

तपाईको प्रतिक्रिया