बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

पाल्पा – पाल्पाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सांसदले पाल्पा-बुटबल सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा पहिरोका कारण ज्यान गुमाउन नपर्ने बताउनुभएको छ ।

तिनाउ गाउँपालिकाको दोभानको सिद्धबाबा क्षेत्रमा वर्षेनी पहिरोका कारण यात्रुले ज्यान गुमाउन बाध्य भएपछि पाल्पाबाट निर्वाचत सांसदले पहिलो काम नै सिद्धबाबा सडक निर्माण गरी मानवीय क्षति कम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

नेपाल पत्रकार महासँघ पाल्पा शाखाद्वारा आज यहाँ आयोजित प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले बढीमा तीन वर्षभित्र सिद्धबाबाको वैकल्पिक सडक तथा सुरुङ निर्माणका काम अघि बढाएर पहिरोका कारण यात्रुले ज्यान गुमाउन नपर्ने बताउनुभयो ।

माओवादीका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र- २ प्रदेशसभा सांसद तुलाराम घर्तीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको सिद्धबाबा क्षेत्रको सडक निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउने वचन दिनुभयो । नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद नारायण आचार्यले पाल्पाको सिद्धबाबा क्षेत्रको सडकका कारण अब कसैले पनि ज्यान गुमाउन नपर्ने बताउनुभयो ।

प्रदेश सांसद युवराज खनाल र डा पुरन बज्राचायले सिद्धबाबा क्षेत्रको सडकका कारण मानवीय तथा भौतिक रुपमा ठूलो क्षति भएकोले पहिलो काम नै सिद्धबाबा क्षेत्रको सडक निर्माण हुने बताउनुभयो । सिद्धबाबा क्षेत्रमा ढुंगासहितको पहिरो वर्षेनी नरोकिएपछि वैकल्पिक सडक खोल्न तयारी अवस्थामा जिल्लावासी जुटेका छन् । सुरुङमार्गको काम ढिला हुने भएपछि वैकल्पिक सडक खोल्ने तयारी छ ।

पाल्पा-बुटबल सडक खण्डको विकल्पमा रुपन्देहीको चरङ्गे मुडावास चौकीभञ्ज्याङ, ज्यामिरे, झुम्सा सडक यसवर्ष खोलिने भएको छ । सो सडकका लागि पाल्पाको तिनाउ गाउँपालिकाले ३० लाख, तानसेन नगरपालिकाले २० लाख, रिब्दीकोट गाउँपालिकाले दश लाख सहयोग गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया