बलिउडमा यौनिक हिंसा नगर्न भारतीय मन्त्रीको दबाब

मुम्बई – भारतको महिला मन्त्रीले बलिउडमा महिला हिंसाका घटना भएको गुनासो आएकाले तत्काल त्यसलाई रोक्न चेतावनी दिनुभएको छ ।

मन्त्री मेनका गान्धीले हिन्दी फिल्म क्षेत्रमा काम गर्ने महिलाहरूमाथि यौनिक हिंसा भइरहेका घटना सार्वजनिक भएपछि यस्तो चेतावनी दिनुभएको हो ।  उहाँले प्रमुख फिल्म उत्पादक कम्पनीहरूलाई पत्राचार नै गरेर आचरण र नियम कानुनलाई ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सन् २०१३ को यौनिक हिंसा सम्वन्धी ऐन अनुसार काम र व्यवहार गर्न फिल्म उत्पादन गर्ने २४ ओटा कम्पनीलाई पत्रचार गरिएको जानकारी दिनुभयो ।

मन्त्री गान्धीले सवै कर्मचारीहरूलाई भारतीय कानुन अनुसार सुरक्षित र समावेशी तरिकाले काम गर्ने वातावरण उपलब्ध गराउन र जिम्मेवार हुन पनि ध्यानाकर्षण गराउनु भएको छ ।  गत महिना एक जना भारतीय अभिनेत्रीले फिल्म क्षेत्रमा आफुले प्रवेश गर्ने बेलामा एक जना पुरुष निर्देशकले हिंसा गरेको बताउनु भएको थियो । उहाँले ती निर्देशकको नाम भने गोप्य राख्नुभयो ।  भारतको महिला तथा बालबालिका विकास मन्त्री गान्धीले हिंसा नियन्त्रणका लागि लगातार ट्वीट गर्नुभएको थियो ।

उहाँले ट्वीटरमा लेख्नु भएको छ, “यौनिक हिंसा सम्वन्धी ऐनमा कुनै यौनिक हिंसा विना हरेक महिला कामदारलाई काम गर्ने वातावरण कार्यक्षेत्रमा रहेको सुनिश्चित गर्नु पर्ने उद्धेश्य राखिएको छ ।  मन्त्री गान्धीले पठाउनु भएको पत्रमा ऐनको भावना व्यवहारमा कार्यान्वयन हुने विश्वास लिदै सवै संस्थामा गम्भीरतापुर्वक यस्लाई लिन र प्रतिबद्ध हुन आग्रह पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित