शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

मनिला – फिलिपिन्सको दक्षिणी मिन्दानाओ प्रान्तमा जारी सैनिक कानूनको अवधि थप एक वर्षका लागि थपिएको छ ।

उक्त प्रान्तमा शान्ति सुरक्षाको अवस्थाको मूल्यांकन गर्दै अर्को एक वर्ष सो सैनिक कानून जारी राख्नुपर्ने भन्दै उक्त कानून बुधबारको संसद बैठकमा प्रस्तुत गरिएको थियो । यसैसँगै फिलिपिन्समा यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्तेको अर्को जित भएको रूपमा उहाँका समर्थकहरूले लिएका छन् । एक वर्षभन्दा लामो समयदेखि संसदमा चर्चामा रहेको यो कानून बुधबार पुनः एक वर्षका लागि थप भएको छ ।

सो क्षेत्रमा जारी रहेको यस कानूनको अवधि अगामी डिसेम्बर ३१ सम्म रहेको थियो । अब उक्त मितिबाट अर्को वर्षको डिसेम्बरसम्मका लागि थप भएको छ । आगामी सन् २०१८ को डिसेम्बरसम्मका लागि उक्त कानून लम्ब्याउन संसदमा अनुरोध गर्दै राष्ट्रपति डुटेर्तेले संसदसँग आग्रह गर्नुभएको थियो । राष्ट्रपतिको यस आग्रहको विद्रोही तथा संसदका विपक्षी दलहरूले विरोध पनि गर्दै आएका थिए ।

यस कानूनलाई सिनेट, प्रतिनिधिसभा दुवैले पारित गरेको छ । यस कानून पारित गर्नका लागि संसदमा भएको मतदानमा २४७ जना सांसदले पक्षमा र २७ ले विपक्षमा मतदान गरेका थिए । करिब दुई करोड व्यक्तिको बसोबास रहेको यस मिन्दानाओ प्रान्तको दक्षिणी शहर मराबी सशस्त्र इस्लामिक आतङ्ककारीहरूले कब्जा गर्दै आएका थिए । विद्रोहीको कब्जामा रहेको उक्त शहरलाई पछि सरकारले सैनिक कारबाहीमार्फत फिर्ता गरेको थियो ।

तपाईको प्रतिक्रिया