शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

सामु गौतम, जापान

जुन दिन हिडे निधारमा रातो टिका लगाएर पिठ्युउमा झोला बोकी आखाभरि आँशुको वर्षा मनभरी पिड़ा लिएर मन अमिलो बनाउदै घरपरिवारको माया मनमा थाती राखी जन्मभूमिलाई वाई वाई भन्दै ठूलो जहाजमा चढी मनमा अनेकौ सपना सजाई सुनौलो भाविष्यको कल्पना गर्दै निलो आकाशमा निराश मनभित्र आफै प्रश्न आफै उत्तर दिदै विदेशको कौतुहलता के कस्तो होला भनि अनेकौ तरंग आउथ्यो । मनमा कति बेला लाग्थ्यो फर्किउ कि क्या हो भनि तर झसंग हुन्थे होईंन म के सोचिरहेको छु, धरै सपना पुरा गर्नुपर्ने छ भनेर मन बुझाउथे पनि । त्यस्तै सोच्दासोच्दै जहाजकोे यात्रा पनि सकिएछ । अनि प्रवेश गरे सपनाको शहर जापान बिरानो फरक रहनसहनसँग घुलमिल गर्दै दिन बित्दै गयो । सताउथ्यो घरको यादले तर पनि मनलाई कठोर बनाउदै भाग दौड गर्नै पथ्र्यो ।
बल्ल बुझे परिवारको माया के हो भनि, यहाँ एक नेपालीले अर्कोलाई चिन्दैनन्, सहयोगको त कुरै नगरौ आफ्ना पनि पराई हुन्छन । पैसा कमाउन सक्यो भने मात्र सबैको राम्रो भनी चिनिन्छ यहाँ, सम्बन्ध बनाउनको लागि पनि पैसा चाहिन्छ । काम शीवाय केहि छैन समस्या धरै छन्ः मरिमरी काम गरेपनि खान बस्न र यहाँको विभिन्न कर तिर्दा ठीक्क छ । सके काम गर नत्र भोकै सुत यस्तै छ यहाँको चलन । हो यस्तै समस्याको बावजुत नेपाल फर्कन पाएको थिइन म पनि जापान आएकोे दुई बर्ष वितिसकेको थियो ।
घरमा मलाई जन्मदिने मेरी आमा एक्कासी बिरामी पर्नु भएछ अनि हस्पिटल लगेर चेकअप गरेर डाक्टरको सल्लाह अनुसार पहिलो रिपोर्टमा केही दिन आइसियुमा राख्न पर्ने भो अनि बिस्तारै निको हुन्छ भन्ने कुरा आयो । सुरूमा त केस जटिल थिएन, आमा दमको रोगी हुनुहुन्थ्यो मपनि आमालाई निको होस् भनि भगवानसंग प्राथना गर्थे रुन्थे कराउथे । यहाँबाट गर्न केही सकेको थिइन केही दिनको हस्पिटलको बसाईपछि आमा निको भएर घर फर्कनुभयो । अनि अलि आस पलायो अब त केही हुँदैन भनेर । अनि कुराकानी हुन लाग्यो, दिनदिनै पहिलाभन्दा बढी झनझन याद आउन लाग्यो बल्ल बुझ्दै थिए आमाको माया के हो भनेर झनझन् माया बढेको थियो ।
सायद त्यो बेला नै त्यस्तो थियो मेरोपनि पेटमा आठ महिनाको बच्चा थियो । मपनि आमा बन्न दुई महिना बाँकी थियो, आमा भन्नुहुन्थ्यो कहिले आउछौ छोरी मेरो नाती लिएर नाती देख्ने ठूलो रहर छ । पेटमा मेरो बच्चा पाँच महिनाको हुदा मैले आमालाई पेटमा छोरा छ भनेर भनेको थिएँ । म जिस्किदै भन्थे तिमी ठीक भईहालेयौ बुढ़ी अब जहिले आएनी भयो आउछु ५ महिनापछि । यता मलाई मेरो बच्चाले जे प्रश्न गर्छ सोही प्रश्न म आमासँग गर्थे । के मैलेपनि यसरी नै लात्तीले हान्थे पेट भित्रबाट । आमा भन्नुहुन्थ्यो तिमी जिद्दी हो सानैदेखिको एकछिन खाना खान अबेर भो भने पेटभित्रै झगड़ा सुरु हुन्थ्यो । म आफुलाई कस्तो गलानी हुन्थ्यो आमा बन्न सजिलो रहेनछ तर पनि कुनै दिन मैले आमाको मायाको कदर गरिन भनेर ।

हो दिन बित्दै गए कुराकानी चलिरहे, एकदिन मध्यरातमा आमालाईं दम बढेछ घरमै डाक्टर बोलाएर अक्सिजन दिनुपर्ने भएछ त्यतिबेला मैले घरमा फोन गरे तर मलाई सब ठिक छ । आमा पनि अहिले निदाउनु भएको छ नबोलौ भनेर बहिनीले फोन राखिदिइन । मनले के के सोच्यो रातीको ३ बजिसक्यो यता म रुदै निदाएछु । त्यसपछि फोनको घण्टी बजेको रहेछ मलाई सपना जस्तो लागिरह्यो आमा त त्यो राती नै हामी सबैलाईं छोडेर भगवानको घर जानुभएछ । त्यो कुरा अर्कों दिन मलाई दिदी आएर सुनाउनु भयो रोइकराइ कस्तो आइ लाग्यो ममाथि नेपाल जाऊँ त डाक्टरले लामो यात्रा मेरो लागि खतरा भनेको छ हे भगवान् के गरू चिच्याउनु बाहेक केहि उपाय थिएन । कस्तो सपना बुन्दै थिए आमासँगै बसी दुःख सुखका कुरा गर्ने तिम्रो नातिलाई लिएर नेपाल आउला भनेर । तर मेरो सपना अधुरो भो मैले कमाएको पैसाले तिम्रो इछा पूरा गर्नुको सट्टा तिम्रो मुख पनि हेर्न पाईंन आमा मेरो मेहनतको कमाईले एउटा चुरा र टिकी पनि किनिदिन पाइन आमा । म कस्तो सन्तान भए पैसाले गर्दा आमाको मुख हेर्न समेत पाइन । पैसाका लागि विदेश पसेको आखिर तिम्रो मुख हेर्न समेत पाइन ।
आमा कसरी तिरू म तिम्रो भारालाई कति दुःख दिए जानी नजानी कुनै दिन बुझिन तिमीलाई गाह्रो भएको छ भनी । सधै मेरै जिद्दी गरी कुनै काममा पनि सहयोग गरिन कति निर्दयी रहेछु म, तिम्रो शिर झुकाउने काम पनि गरे । आफ्नो इच्छा पूरा गर्नलाई कसरी  माफी मागौ त्यों पहिले नै माग्नुपर्ने त्यो मौका मलाई दिनु भएन । हो यिनै गल्तीको सजाय पाउनेछु मैले सयौ जुनी हजुरकै छोरी भएर जन्मिन पाऊँ र तिम्रो भारालाई तिर्न पाऊँ यही आशा छ । आशा गर्नु बाहेक अरू के नै छ र रोएर फर्किने रहेनछ, एकपटक गएको मान्छे आएर हुने भए को रोएको होला म जती, खै एक वर्ष पुगेछ अझै आउनु भएन मेरी आमा ।
हो आफ्नो पिडालाई सामाजिक संजालमा दर्शाउदा पिड़ा कम हुने त होइन तर आज यो भोगाइ मेरो मात्र नभएर सारा नेपालीले भोग्दै आएका छन् । यदि हामी विदेशिनु नपरेको भए आफ्नो परिवारलाई सबै कुराको चाहेको खुशी दिन नसके पनि नचाहेको दुःख पनि दिने थिइन । होला विदेशिनु हाम्रो बाध्यता हो दुःख सुख जे जस्तो भएतापनि आफ्नो परिवार बुवाआमा सन्तानको मुल्य पैसाले पाउन नसकिने रहेछ । त्यसैले आफ्नो समय घरपरिवारलाई पनि दिऊ घरमा जाने भेट्ने गरौं मैले जस्तो पिडा कसैले भोग्न नपरोस् “मेरो विदेश बसाईको भोगाई जस्तो तपाईहरुकोे भोगाई नहोस ।”

तपाईको प्रतिक्रिया