शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन् । यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउने छ ।

कैदीबन्दीले यो सुविधा कैदीबन्दीको प्रजनन हकको कार्यान्वयनमा बनेको निर्देशिका पास भएपछि मात्रै पाउनेछन् । विभागले निर्देशिकाको खाका तयार गरिसकेको छ । खाकालाई अन्तिम रुप दिएपछि गृहमन्त्रालयमा पेश हुनेछ । मन्त्रालयबाट पास भइसकेपछि निर्देशिका कार्यान्वयनमा आउनेछ ।

त्यसलगत्तै कैदीबन्दीले सन्तान उत्पादनका लागि कारागारले नै व्यवस्था गरेको विशेष कोठामा आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउनेछन् । विभागका अनुसार यो सुविधा लामो अवधि सजाय तोकिएका तर सन्तान नभएका कैदीबन्दीको हकमा मात्रै लागू हुनेछ । यसका लागि विवाहित हुनुपर्नेछ ।

महिला कैदीबन्दी भए उनका श्रीमान र पुरुष कैदीबन्दी भए उनकी श्रीमतीलाई सम्पर्कमा ल्याइनेछ । दुवैको चिकित्सकबाट स्वास्थ्य परीक्षण गराइनेछ । सन्तान उत्पादनका लागि समय निश्चित भएपछि मात्रै उनीहरुलाई संसर्गका लागि भेट गर्न दिइनेछ । त्यसपछि बढीमा सात दिनसम्म उनीहरुलाई सँगै राखिनेछ ।

तपाईको प्रतिक्रिया