शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दलहरूले समानुपातिक तर्फको बन्द सूचीमा राखेका उम्मेदवारका नामहरूलाई नै क्रमशः अनुसार नै राख्नुपर्ने बताउनुभएको छ ।

आज राजधानीमा आयोजित विशेष साक्षात्कारमा प्रमुख आयुक्त यादवले भन्नुभयो, ‘दलहरूले आयोगमा बुझाएको बन्द सूची अनुसार नै क्रमशः पहिलो, दोस्रो र तेस्रोको क्रममा रहेका नामहरूलाई प्राथमिकता दिनुपर्छ, सबैको प्रतिनिधित्व सुनिश्चित गर्नको लागि पनि दलहरूले यसलाई अनिवार्य रूपमा फलो गर्नुपर्छ।’ उहाँले समानुपातिकमा बन्द सूचीका नामहरूलाई तलमाथि गर्न नपाईने स्पष्ट पार्नुभएको छ ।

साक्षात्कारमा बोल्दै उहाँले प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भैसकेको र अब दुई दिनभित्रै समानुपातिकतर्फको पनि सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने विश्वास दिलाउनुभयो । निर्वाचन सफल रूपमा सम्पन्न गरेको भनेर अहिले विभिन्न निकाय, संघसंस्थाहरूले आफूहरूलाई बधाई तथा धन्यवाद दिइरहेको उल्लेख गर्दै यादवले भन्नुभयो, ‘निर्वाचन आयोगले यो निर्वाचन सम्पन्न गर्न खेलेको भूमिका र व्यवस्थापनको मूल्यांकन गर्ने जिम्मा तपाई सञ्चारकर्मीहरूको पनि हो, हामीले गरेको कामको अहिले चौतर्फी प्रशंसाहरू भैरहेका छन्, हामी ज्यादै खुशी छौं, उत्साहित छौं।’

स्थानीय तहको निर्वाचनदेखि हालै सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई सफल रूपमा सम्पन्न गराउनको लागि ज्यादै अनुकुलात्मक वातावरण सिर्जना गर्न मिडियाले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै उहाँले धन्यवाद एवम् बधाई समेत दिनुभयो । साथै उहाँले निर्वाचनमार्फत आम नेपाली जनताले लोकतन्त्र, संघीयता र संविधान कार्यान्वयनमा देखाएको चासोप्रति पनि आभार व्यक्त गर्नभयो ।

तपाईको प्रतिक्रिया