शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – पहिलो हुने निर्वाचित हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुकभर औषतमा पाँच दशमलव १८ प्रतिशत मत बदर भएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हिमाली जिल्लाको तुलनामा मध्य तराई-मधेसका जिल्लामा बदर मत प्रतिशत निकै बढी रहेको पाइएको जानकारी दिनुभयो । उहाँका अनुसार, सबैभन्दा कम मनाङमा शुन्य दशमलव ३७ प्रतिशत मत बदर भएको छ भने सबैभन्दा बढी २ नं प्रदेशका जिल्लामा झण्डै नौ प्रतिशतसम्म मत बदर भएको छ ।

काठमाडौं उपत्यकाका जिल्लामा तीन दशमलव ८१ प्रतिशत भन्दा कम नै मत बदर भएको तथ्यांक रहेको उहाँले बताउनुभयो । निर्वाचन आयोगले ५ प्रतिशतभन्दा कम नै मत बदर हुने अपेक्षा गरेको थियो । संविधानसभाको ६४ सालको निर्वाचनमा पाँच दशमलव १५ प्रतिशत मत बदर भएको थियो भने २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा चार दशमलव ९४ प्रतिशत मत बदर भएको हो ।

आज आयोजित साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त डा यादवले अबको तीन दिनभित्रै समानुपातिक तर्फको सबै मतपरिणाम सार्वजनिक हुने बताउनुभयो । संविधानले नै सुनिश्चित गरेको महिला र जातजातिको प्रतिनिधित्वको विषयमा समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएको बन्दसूचीमा समावेश गरिएका नाम प्राथमिकताका आधारमा राजनीतिक दलले पठाउनुपर्ने पक्षलाई आयोगबाट गहन ढंगले हेरिने उहाँले बताउनुभयो ।

विभिन्न डर त्रास र भयलाई पन्छाएर व्यापक जनसहभागितामा निर्वाचन हुनु भनेको मतदाताले निर्वाचनको स्वामित्व ग्रहण गर्नु हो भन्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धमा आयोगले नियमावली बनाउन शुरु गरिसकेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया