मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

काठमाडौं – पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तर्फको मत गणना सकिएको छ । प्रतिनिधिसभा तर्फको १ सय ६५ र प्रदेश सभा तर्फको ३ सय ३० वटै निर्वाचन क्षेत्रको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

मतगणना सकिएसँगै प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल बनेको छ । समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै रहेकाले अब बन्ने प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बन्ने निश्चित भएको छ । प्रत्यक्षतर्फ एमालेभन्दा आधा कम सिट जितेर माओवादी दोस्रो दल बनेको छ ।

माओवादीले ३६ सिट प्रत्यक्षतर्फ जितेको छ भने समानुपातिकमा तेस्रो स्थानमा छ । यस्तै नेपाली कांग्रेसले २३ सिट जितेर तेस्रो स्थानमा झरेको छ । यस्तै राष्ट्रिय जनता पार्टीले ११ स्थान, संघीय समाजवादी फोरमले १० तथा अन्य साना दल र स्वतन्त्र उम्मेदवार ५ स्थानमा विजयी भएका छन् ।

प्रदेशसभा तर्फ पनि नेकपा एमाले नै अग्रस्थानमा छ । एमाले १ सय ६८ स्थानमा विजयी हुँदा वामगठवन्धनमा रहेको माओवादी केन्द्रले ७३ स्थानमा सफलता प्राप्त गरेको छ । नेपाली कांग्रेसले ४१ स्थानमा विजयी हुँदा संघीय समाजवादी फोरम २४ स्थानमा झण्डा फहराउन सफल भएको छ ।

राष्ट्रिय जनता पार्टीले १६ स्थान, राष्ट्रिय जनामोर्चाले २, नयाँ शक्तिले २ र मजदुर किसान पार्टीले १ स्थानमा विजयी हासिल गरेका छन् । १ स्थानमा स्वतन्त्र उम्मेदवार विजयी हुँदा अन्यले २ स्थानमा विजयी हासिल गरेका छन् ।

तपाईको प्रतिक्रिया