शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं –  प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनले प्रष्ट बहुमत प्राप्त गर्ने भएसँगै भारतीय संचारमाध्यममा नेपालको राजनीतिक अवस्था र नेपाल–भारतसम्बन्धबारे व्याख्या, विश्लेषण हुन थालेको छ ।

नवभारत टाइम्सले नेपालमा वामपन्थी गठबन्धनको जितलाई भारतका लागि नयाँ चुनौतीका रुपमा विश्लेषण गरेको छ । ‘नेपालमा केपी ओलीको हातमा सत्ता पुग्नु भारतका लागि खतराको घण्टी’ हुने सो अखबारले उल्लेख गरेको छ । नवभारत टाइम्सको समाचारमा भनिएको छ, ‘ओली खुलेरै चीनप्रति आफ्नो झुकाव प्रकट गर्दछन् ।’

भारतका विदेश मामला जानकार ब्रह्म चेलानीलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘नेपालका दुई प्रमुख कम्युनिस्ट पार्टी एक साथ उभिएका छन्, नेपालको कम्युनिस्ट सरकारको झुकाव निसन्देह चीनतर्फ नै हुनेछ ।’

त्यस्तै अर्को अखबार दैनिक जागरणले पनि नेपालमा चीनको प्रभाव बढ्ने विश्लेषण गरेको छ । नेपालका वामपन्थी दलहरुको झुकाव चीनतर्फ रहेको उल्लेख गर्दै सो अखबारले भनेको छ, ‘मधेस आन्दोलनका क्रममा ट्रक आवागमनमा रोक लगाएपछि ओली सरकार र भारतबीचको सम्बन्ध तल्लो स्तरमा पुगेको थियो । त्यसपछि केपी ओलीले चीनतर्फ हात बढाए ।’

भारतलाई घेर्ने कोसिसमा जुटेको चीन नेपालमा भारतको निर्भरता समाप्त गर्नका लागि हरसम्भव मद्दत गर्न तयार हुने उक्त पत्रिकाको ठहर छ ।

उसले समानुपातिकमा नेपाली कांग्रेसले पाएको मत र प्रतिनिधिसभामा मधेसवादी दलले २१ सिट हासिल गरिसकेको अवस्थालाई ‘भारतका लागि केही सहज’ भन्दै व्याख्यासमेत गरेको छ । ‘यस्तोमा एउटा बलियो विपक्षीले वामपन्थी दलको मनोमानीलाई रोक्न सफलता मिल्न सक्छ,’ दैनिक जागरणले भनेको छ ।

त्यसैगरी हिन्दुस्तान टाइम्समा वरिष्ठ पत्रकार पुष्परंजन लेख्छन्, ‘करिब डेढ वर्षअघि ओली सरकार ढल्नु कहीँ न कहीँ चिनियाँ कुटनीतिको हार थियो, तर केपी ओलीको जसरी पुनरागमन भएको छ, त्यसको कुटनीतिक निहितार्थ नयाँ दिल्लीका लागि एउटा ठूलो चुनौती सरह छ ।’

तपाईको प्रतिक्रिया