बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – तीनदेखि लगातार ६ पटकसम्म निर्वाचित सांसदले संघीय संसद्मा प्रतिनिधित्व गर्दै छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट छैटौँपटक सांसदमा निर्वाचित हुनुभएको छ । उहाँ ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा निर्वाचित हुनुभएको हो। कांग्रेस नेता विजयकुमार गच्छदार सुनसरी ३ बाट ०४८ देखि तीनपटकसम्म कांग्रेसबाट र ०६४ र ७० मा फोरमबाट निर्वाचित हुनुभयो  ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल ०५६ बाहेक ०४८ पछिका सबै निर्वाचनमा सांसद बन्दै आउनुभएको छ । हाल उहाँ पाँचौँपटक सांसद हुनुभएको छ । एमाले नेता सुवास नेम्वाङ इलामबाट ०५६ देखि हालसम्म चारपटक र उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेताकृष्णबहादुर महरा चौथोपटक सांसद निर्वाचित हुनुभएको छ। यसअघि रोल्पा तथा दाङबाट चुनाव लड्दै आएका महरा यसपटक दाङ २ बाट निर्वाचित हुनुभयो  । एमालेको चुनाव चिह्न लिएर उठेका बृजेशकुमार गुप्ता चौथोपटक सांसद हुनुभएको छ । उहाँ ०५६ मा राप्रपा, ०६४ र ०७० मा सद्भावना पार्टी र हाल सूर्य चिह्न लिएर कपिलवस्तु २ बाट निर्वाचित हुनुभएको हो ।

यी हुन् तीनपटक सांसद बन्ने नेता
गोरखाबाट डा. बाबुराम भट्टराई लगातार तेस्रोपटक सांसद हुनुभएको छ । उहाँ दुईपटक माओवादी र एकपटक नयाँ शक्ति पार्टीबाट सांसदमा निर्वाचित हुनुभएको हो ।

कांग्रेसका प्रकाशमान सिंह काठमाडौं १ बाट लगातार तेस्रोपटक विजयी हुनुभएको छ । माओवादी केन्द्रका जनार्दन शर्मा, एमालेका रवीन्द्र अधिकारी, कांग्रेस महामन्त्री डा. शशांक कोइराला, अभिशेकप्रताप साह लगातार तीनपटक सांसद बन्ने नेता हुन् ।

जो छैटौँपटक  सांसद बन्न सकेनन्
०४८ देखि सांसद निर्वाचित हुँदै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल यसपटक पराजित हुनुभयो । पाँचपटक लगातार सांसद बनेका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले यसपटक उम्मेदवारी दिनुभएन। ०४८ देखि लगातार सांसद बन्दै आएका कांग्रेस नेता पूर्णबहादुर खड्का यसपटक सुर्खेतबाट पराजित हुनुभयो ।

तपाईको प्रतिक्रिया