शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – प्रदेश नम्बर दुईमा नेपाली कांग्रेसले मधेशी दलसँग सहकार्य नगरेको फाइदा एमालेलाई भएको छ ।

मधेश आन्दोलनताका एमाले त्यसको कटू आलोचक थियो र मधेशवादी दल पनि एमालेप्रति आक्रमक देखिएका थिए । तर, प्रदेश सभाको निर्वाचनमा दुई मधेशवादी दल पछि तेस्रो बढी सिट एमालेले पाएको छ। देशका ६ वटा प्रदेशमा एमाले पहिलो स्थानमा छ । मधेशको मुद्दामा लचकता अपनाउँदै आएको कांग्रेस यहाँका प्रदेश सभा निर्वाचनमा तालमेलकै कारण पछाडि पर्यो ।

कांग्रेसले मधेशमा आधारित दलहरुसँग बढी सिट माग गरेकाले चुनावी एकता भएन जसको परिणाम प्रतिनिधि सभा र प्रदेश सभा दुवैतिर भोग्न वाध्य भयो । दुई नम्बर प्रदेशको प्रदेश सभाको प्रत्यक्ष तर्फको कूल ६४ सिट मध्ये एमालेले १३ सिट ल्याएर तेस्रो स्थान हासिल गर्यो । जबकि कांग्रेसले जम्मा आठ सिटमा चित्त बुझाउनु पर्यो। माओवादी केन्द्र भने कांग्रेस भन्दा एक सिट कम अर्थात् सात सिट ल्याएर पाँचौ दल बनेको छ ।

दुई नम्बर प्रदेश सभामा संघीय समाजवादी फोरम नेपाल पहिलो शक्ति बनेको छ । फोरमले २० सिट हात पारेको छ भने राजपा दोस्रो बनेको छ। राजपाले १५ वटा क्षेत्र जितेको छ । प्रतिनिधि सभामा भने दुई नम्बरबाट राजपा पहिलो शक्ति बनेको छ भने फोरम दोस्रो रहेको छ । कांग्रेस र मधेशी दलहरुबीच तालमेल नहुँदाको प्रत्यक्ष फाइदा वाम गठबन्धनलाई भएको छ । कांग्रेस र मधेशी दलको तालमेल भएको भए परिणाम फरक आउने थियो।

तपाईको प्रतिक्रिया