सर्लाहीमा काँग्रेस र राजपाबीच झडप, ४ राउण्ड हवाई फायर, तीन घाइते

सर्लाही – कौडेना गाउँपालिकाको फुलपरासी बुथमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताहरुबीच झडप हुँदा एक महिलासहित तीन जना घाइते भएका छन् ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ । भोट खसाल्न लाइनमा बसेका बेला कांग्रेस कार्यकर्ताहरुले राजपा कार्यकर्ताहरुलाई रोक्न खोजेपछि विवाद भएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार कांग्रेस कार्यकर्ताले राजपा कार्यकर्तामाथि आक्रमण गर्न थालेपछि प्रहरीले झडप नियन्त्रण लिनका लागि ४ राउण्ड हवाई फायर गरेको थियो । उक्त आक्रमणबाट राजपा कार्यकर्ता सरोज कुमार यादव, मनोज कुमार यादव र रामरती देवी यादव घाइते भएका छन् । कौडेना–३ फुलपरासी निवासी रामरतीको अवस्था भने गम्भीर छ । हाल उहाँको उपचार जिल्ला अस्पताल मलंगवामा भइरहेको छ ।
झडप पछि केहीबेर मतदान रोकिएको थियो । हाल मतदान जारी रहेको प्रजिअ कटुवालले जानकारी दिनुभयो । कांग्रेसको पकड एरिया रहेको उक्त मतदान स्थलमा झडपपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित