‘वायू प्रदुषणबाट १ करोड ७० लाख बालबालिकाको मस्तिष्कमा प्रत्यक्ष असर’

काठमाडौं –  संयुक्त राष्ट्रसंघले वायु प्रदुषणका कारण एक बर्षमुनिका १ करोड ७० लाख बालबालिकाको मस्तिष्कमा प्रत्यक्ष असर पुगेको जनाएको छ । तीमध्ये १ करोड २० लाख बालबालिका दक्षिण एसियाका भएको युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।

पूर्वी एसिया र प्रशान्तीय क्षेत्रका थप ४० लाख बालबालिकामा समेत वायू प्रदुषणको जोखिम रहेको प्रतिवेदनमा जनाइएको छ । युनिसेफका अनुसार वायू प्रदुषणका कारण बालबालिकाको मस्तिष्कको कोषिकाहरुमा क्षती हुने र विकासमा असर पुग्नेछ ।

जसको प्रभावस्वरुप बालबालिकाको स्मरणशक्ति कम हुने, बौद्धिक क्षमता घट्ने, व्यवहारमा परिवर्तन आउने तथा नसासम्बन्धी समस्या समेत देखापर्ने युनिसेफले जनाएको छ । यो प्रभाव जीवनभर रहने युनिसेफले उल्लेख गरेको छ ।

आवश्यक सुरक्षा प्रबन्ध तथा प्रदुषण कम गर्ने ठोस कार्ययोजना विना नै बढ्दो शहरीकरणका कारण आगामी दिनमा यो खतरा अझै बढ्नसक्नेतर्फ युनिसेफले सम्बन्धित सबैको ध्यानाकर्षण समेत गराएको छ । हावा प्रशोधन गर्ने प्रणाली तथा नाकमुख छोप्ने मास्कको प्रयोग बढाउन पनि युनिसेफले सबैलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित