शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

वासिंटन – ट्विट गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकै चर्चित हुनुहुन्छ, दैनिकजसो उहाँका ट्विट समाचारको विषय बन्ने गरेका छन् तर लोकप्रिय ट्विटको मामलामा उहाँलाई अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले उछिन्नुभएको छ ।

ट्विटरले सन् २०१७ को ट्विटको समीक्षा गर्दै यो वर्ष ओबामाको ट्विट सबैभन्दा लोकप्रिय रहेको जनाएको छ । भर्जिनियाको शर्लोट्सभिलेमा भड्किएको नस्लीय हिंसाका बारेमा ओबामाले गरेको ट्विट सन् २०१७ कै सबैभन्दा लोकप्रिय ट्विट बनेको छ । यतिमात्र होइन, ३० करोडभन्दा बढी प्रयोगकर्ता रहेको ट्विटरकै इतिहासमा यो सबैभन्दा रुचाइएको ट्विट पनि बनेको छ ।

ओबामाले नेल्सन मन्डेलाको सन् १९९४ मा प्रकाशित आत्मकथालाई उद्धृत गर्दै ट्विट गर्नुभएको थियो। ट्विटमा उहाँले भन्नुभएको थियो– ‘कुनै पनि व्यक्ति अर्को व्यक्तिको शरीरको रङ, उसको पृष्ठभूमि या धर्मको आधारमा उसका लागि घृणा लिएर जन्मिएको हुँदैन ।’

ट्रम्पले धेरै ट्विट गरे पनि सबैभन्दा बढी रुचाइएको शीर्ष १० ट्विटमा उहाँको कुनै पनि ट्विट सामेल भएको छैन ।

तपाईको प्रतिक्रिया