मत हाल्न बाहिर जानेको संख्या घट्यो, बुधबार मध्यरातिदेखि सवारी बन्द

काठमाडौं – दोस्रो चरणको निर्वाचनमा मत खसाल्न गृहजिल्ला फर्कनेहरूको संख्या बढ्दो छ। मतदाताहरू दिनहुँ बाहिरिन थालेपछि काठमाडौंमा सवारी चाप कम हुँदै गएको छ।
पसल तथा मुख्य बजारहरू सुनसान देखिन थालेका छन्। बसपार्कमा जिल्ला फर्कनेहरूको भिड लागेको छ। यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार निर्वाचनका लागि झन्डै दुई साताको अवधिमा उपत्यकाबाट साढे चार लाख मतदाता बाहिरिएका छन्। २१ मंसिरमा ४५ जिल्लामा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ एक सय २८ र प्रदेश सभातर्फ दुई सय ५६ सिटका लागि प्रतिस्पर्धा हुँदै छ। पहिलो चरणको निर्वाचनको तुलनामा अहिले बाहिरिनेको संख्या निकै कम छ। यसअघि, पहिलो चरणमा झन्डै आठ लाख मतदाता काठमाडौंबाट बाहिरिएका थिए। पहिलो चरणमा ३२ जिल्लामा निर्वाचन भएको थियो।
दोस्रो चरणमा निर्वाचन हुने जिल्लाका केही मतदाताहरूले समेत पहिलो चरणको निर्वाचनअगावै काठमाडौं छाडेकाले यसपटक बाहिरिने मतदाताहरूको संख्या कम देखिएको हुन सक्ने अनुमान गरिएको छ। काठमाडौंमा पढाइ, रोजगारीलगायत विभिन्न काममा आएका मतदाता उपत्यकाबाट भोट खसाल्नका लागि आफ्नो गृहजिल्ला फर्कने गरेका छन्।

बुधबार मध्यरातिदेखि सवारी बन्द
आज राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म उपत्यकासहित निर्वाचन हुने ४५ जिल्लामा सवारी आवागमन बन्द हुने भएको छ। त्यसैले, टाढा–टाढाका मतदाताहरूले यसअघि नै काठमाडौं छाडिसकेका छन्। काठमाडौं नजिकका जिल्लाका मतदाताहरू भने दिवासेवामार्फत आज पनि गृहजिल्ला फर्कंदै छन्।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित