फुटबलका स्टार मेस्सीको प्रतिमा फेरि तोडफोड, भुइँमा लडे मेस्सी

काठमाडौं – विश्व फुटबलका स्टार खेलाडी लियोनल मेस्सीको प्रतिमा अराजक समूहले तोडफोड गरेका छन् । अर्जेन्टिनाको राजधानी ब्युनेस एयरसमा रहेको मेस्सीको काँसको प्रतिमा तोडफोड भएको हो ।

गएको वर्षको जुनमा अनावरण गरिएको मेस्सीको प्रतिमा योसहित दुईपटक तोडफोड भएको छ । मेस्सीको प्रतिमा अराजक समूहले गोली गाँठो भन्दा केही माथिबाट फुटाएर लडाएका छन् । मेस्सीको प्रतिमाको मूख्य भाग भुइँमा लडेको छ । यसअघि पनि मेस्सीको प्रतिमामा तोडफोड भएको थियो ।

प्रहरीले तोडफोडको कारण थाहा नभएको अनुसन्धान भइरहेको जनाएको छ । मेस्सीले गएको अक्टोबरमा भएको विश्वकप छनौटको अन्तिम खेलमा इक्वेडर विरुद्ध ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकप २०१८ मा पुर्‍याएका थिए । अर्जेन्टिनाका सञ्चारमाध्यमले तोडफोड भएको मेस्सीको प्रतिमाको तस्बिर ट्वीट गरेका छन् । गएको जनवरीमा मेस्सीको प्रतिमा कम्मरबाट काटिएको थियो ।

सन् २००० मा अर्जेन्टिना छोडेका मेस्सीले क्लब फुटबलमा बार्सिलोनाबाट खेल्दै आएका छन् । उनले क्लबबाट राम्रो गरे पनि यसअघि राष्ट्रिय टिमबाट राम्रो प्रदर्शन नगरेको भन्दै आलोचना हुने गरेको थियो । क्लबबाट चारपटक युरोपियन कप, ८ पटक लिग उपाधि जितेका छन् भने पाँच पटक बोलोन डी’ओ र तीनपटक क्लब विश्वकप जितेका छन् । तर राष्ट्रिय टिमबाट उनले विश्वकपको उपाधि जित्न सकेका छैनन् ।

उनले राष्ट्रिय टिमबाट सन् २००८ को ओलम्पिकमा फुटबलमा गोल्डकप जित्नु नै अहिलेसम्मको ठूलो उपलब्धी हो । सन् २०१६ को जुनमा कोपा अमेरिका अन्तर्गत चिलीसँगको फाइनल खेलमा मेस्सीले पेनाल्टीमा गोल गर्न नसकेपछि अर्जेन्टिनी समर्थक रुष्ट भएका थिए । त्यसपछि सन्यासको घोषणा गरेको मेस्सीले पछि सन्यास फिर्ता लिएका थिए ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित