शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

अमेरिका  – अमेरिकाको सर्वोच्च अदालतले मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको समर्थन गरेको छ । सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको निर्णयको समर्थन गर्दै तत्काल पूर्ण रुपले कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ ।

ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगतै मुस्लिम बाहुल्य देशबाट अमेरिकाको सुरक्षामा खतरा रहेको भन्दै चाड, इरान, लिबिया, सोमालिया, सिरिया र यमनमाथि यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको थियो । तर राष्ट्रपतिको निर्णयको विरुद्धमा विभिन्न संघीय अदालतले फैसला गरेपछि कार्यान्वयनमा आउन सकेको थिएन ।

यस मुद्दामा सर्वोच्च अदालतले राष्ट्रपतिको पक्षमा फैसला गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको हो । सर्वोच्च अदालतका ९ मध्ये सात न्यायाधीशले ट्रम्प प्रशासनले तल्लो अदालतले यात्रा प्रतिबन्ध लागु गर्न लगाएको प्रतिबन्ध हटाउन गरेको मागको पक्षमा मत दिएका हुन् । सर्वोच्च अदालतले कार्यान्वयनको बाटो खुला गरे पनि अझै कानुनी चुनौती भने रहेका छन् । गएको जनवरीमा सत्ता सम्हाले लगतै ट्रम्पले यात्रा प्रतिबन्ध सम्बन्धी विवादास्पद नीतिका तीन प्रारुप जारी गर्नुभएको थियो ।

तल्लो अदालतका न्यायाधीशले ट्रम्पको निर्णय धार्मिक रुपमा मुस्लिममाथिको प्रतिबन्ध रहेको भन्दै कार्यान्वयनमा रोक लगाएका थिए । तर उत्तरु कोरिया र भेनेजुएलाका केही सरकारी अधिकारीमाथि लगाइएको प्रतिबन्धलाई भने तल्लो अदालतले यसअघि नै मन्जुरी दिएका थिए ।

यस्तै एक सय २० दिनसम्म शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी प्रस्तावलाई पनि यसअघि नै अदालतले स्वीकार गरेको थियो । अब सर्वोच्च अदालतको आदेशपछि मुस्लिम बाहुल्य ६ देशका नागरिक अमेरिका प्रवेश गर्न नपाउने भएका छन् । तर त्यहाँ पहिले नै रहेका ती देशका नागरिकका सम्बन्धमा के हुने भन्ने चाहिँ अन्यौल रहेको छ ।

तपाईको प्रतिक्रिया