अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा एफबिआईको कडा आलोचना, किन ?

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच आयोग (एफबिआई) को कडा आलोचना गर्नुभएको छ । आइतबार उहाँले ट्वीट गर्दै एफबिआइको प्रतिष्ठा निकै खस्किएको आरोप लगाउनुभएको हो ।

 

विशेष वकिल रोबर्ट मुलरको नेतृत्वमा भइरहेको अनुसन्धानको क्रममा ट्रम्पका शीर्ष सुरक्षा सल्लाहकार रहेका माइकल फ्लिनले आफूले एफबिआईलाई रुसी राजदूतसँगको कुराकानीका बारेमा सत्य नबताएको स्वीकार गरेपछि ट्रम्प फ्लिनको पक्षमा र एफबिआईको विरोधमा खुलेर लाग्नुभएको छ ।

यसअघि ट्रम्पले फ्लिनको कार्य जायज रहेको बताउँदै फ्लिनले एफबिआईलाई झुठ बोलेको बारेमा आफूलाई पनि जानकारी रहेको संकेत गर्नुभएको थियो । ट्रम्पले एफबिआईका तत्कालीन निर्देशक जेम्स कुमीलाई फ्लिनमाथिको अनुसन्धान रोक्न आग्रह गरेको आरोप अस्वीकार गर्नुभएको छ ।

विशेष वकिल मुलरको नेतृत्वमा सन् २०१६ को राष्ट्रपतिय चुनावमा रुसी हस्तक्षेपका बारेमा अनुसन्धान भइरहेको छ । ट्रम्पले आफ्नो जितका लागि रुससँग साँठगाँठ गरेको कुरा अस्वीकार गर्दै आउनुभएको छ । फ्लिनले शुक्रबार आफूले रुसी राजदूतसँगको भेटका बारेमा एफबिआईसँग झुठ बोलेको स्वीकार गर्नुभएको थियो । फ्लिनले आफूले रुसी राजदूतसँग भेटवार्ता गरेको र यसबारेमा एफबिआईलाई नबताएको स्वीकार गर्नुभएको हो ।

रुसी राजदूतसँगको भेटका बारेमा ह्वाइट हाउसलाई जानकारी नै नदिएको आरोप फ्लेनमाथि छ । फ्लिनले ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु पूर्व रुसी राजदूतसँग भेटवार्ता गर्नुभएको हो । भेटवार्ताको जानकारी बाहिर आएपछि फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट बर्खास्त गरिएको थियो । विशेष वकिल मुलरको जाँच अन्तर्गत आरोप दर्ता भएका फ्लेन ट्रम्प प्रशासनका अहिलेसम्मका उच्च अधिकारी हुन् ।

एफबिआई तथा सिबिआईले राष्ट्रपति चुनावमा रुसी संलग्नता रहेको देखिएको बताइसकेका छन् । यसविषयमा अहिले मुलरको टिमले अनुसन्धान गरिरहेको छ । तर ट्रम्प तथा रुसले भने कुनै संलग्नता नरहेको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित