शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – विश्व मानचित्रमा विशिष्ट पहिचान बोकेको मुलुक हो नेपाल । यहाँको भू–वनावट, हावापानी, रहनसहन लगायत ऐतिहासिक, पुरातात्विक तथा साँस्कृतिक सम्पदाहरुले जो कोहीलाई पनि लोभ्याउन सक्छ । यति हुँदाहुँदै पनि नेपालले पर्यटन प्रबद्र्धनमा खासै फड्को मार्न नसकिरहेको यथार्थ हाम्रो सामु छ । मुलुक संघीय संरचनामा गईसकेको अवस्थामा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले के गर्दै छ ? के–कस्ता योजनाहरु अघि सारेको छ । यसै विषयमा मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायसंग समुद्रपारि डट कमका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले के काम गरिरहेको छ ?

मूलभूत रूपमा यस मन्त्रालयले अहिले नयाँ संविधानको कार्यान्वयनसँगै मन्त्रालयको नीतिगत, संरचनागत र जनशक्ति व्यवस्थापनका कुरामा पुनःसंरचना र संघीकरण गर्दै छ । अहिले हामी पर्यटन नीति, हवाई नीति र सँस्कृति नीति अहिले अपडेट गर्दैछौं । नीतिगत संरचनामा सुधारसँगै कानुनी पक्षका सुधार पनि अगाडि बढिरहेका छन् । सँस्कृति क्षेत्रसँग सम्बद्ध कानुन पनि सुधार गर्दैछौं । यसका अलावा सँस्कृति संरक्षण, क्षतिग्रस्त पूर्वाधारको पुननिर्माण, अन्य पूर्वाधारण निर्माण, बजारीकारण लगायतको कामलाई विशेष प्राथमिकतामा राखेर काम भईरहेको छ ।
नीति तथा कार्यक्रमलाई अपडेट गर्ने काम त चलिनै रहन्छ, फरक कार्यक्रम चाँहि के छ ? पर्यटन प्रवद्र्धन महाशाखाको नेतृत्व गर्ने सह–सचिवको हैसियतले भन्नुपर्दा सन् २०२० सम्म १५ लाख पर्यटक भित्राउने लक्ष्यका साथ भिजिट नेपाल ट्वान्टी– २० (नेपाल भ्रमण वर्ष सन् २०२०) को अवधारणापत्र र त्यसको संरचना मन्त्रिपरिषदबाट स्वीकृत भईसकेको छ । मूलभूत रूपमा विश्व पर्यटन बजारमा इमर्जिङ मार्केटका रूपमा रहेको चीन र भारत हाम्रो वरिपरि छन् । यिनलाई लक्षित गरी कन्ट्रिवाइज पर्यटन प्रवद्र्धन रणनीति बनाउँदै छौं । आन्तरिक पर्यटनलाई पनि उत्तिकै महत्वका साथ अगाडि बढाउन विविध कार्यक्रम गरिरहेका छौं । हरेक प्रदेशको एक प्रमुख पर्यटकीय स्थललाई केन्द्रविन्दु मानेर प्रदेशगत पर्यटन सर्किटको विकास गर्ने तथा हिन्दू र बौद्धिष्ट सर्किटका रूपमा विकास गर्ने अभियान पनि जारी छ ।

भिजन ट्वान्टी – २० कुरा गर्नुभयो, तयारी कसरी अगाडि बढीरहेको छ ?

मन्त्रिपरिषदले निर्णय गरिसकेको छ, अवधारणापत्र पनि स्वीकृत भईसकेको छ । यसका संरचना व्यवस्था भईसकेका छन् । यसलाई फङ्शनल बनाइसकेका छैनौं । किनकी हामीले सन् २०१८ लाई सुरूवात वर्ष मानेका छौं । सन् २०१९ लाई मूल अभियान र २०२० लाई नेपाल भ्रमण अभियान वर्ष भनेर प्रस्तुत गरेका छौं । सन् २०१८ को सुरूवातसँगै सचिवालय स्थापना गर्ने र तत्काल मूल तथा कार्यकारिणी समितिलाई सक्रिय बनाउँछौं । यो अवधीमा हामी २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ अघि बढिसकेका छौं ।

यस अघि पनि बिभिन्न वर्ष मनाईएकै हो । भिजन ट्वान्टी–२० व्यवहारिक कार्यान्वयनका पक्षबारे थोरै प्रकाश पारिदिनुस् न ?

एकदम ठिक कुरा गर्नुभयो । दिगो पर्यटन भनेकै आन्तरिक पर्यटन हो । हामीले बाह्य पर्यटकमा रहेको निर्भरतामा बदलाव ल्याउन जरुरी छ । गत वर्षको तथ्याङ्क अनुसार नेपालमा आएका पर्यटकले गर्ने खर्चभन्दा नेपालका नागरिकहरू वैदेशिक पर्यटक भएर गरिने खर्च बढी देखिएको छ । त्यसले पनि के देखाउँछ भने नेपालीहरू पनि खर्च गर्न सक्षम छन् । नेपालीहरूलाई रिक्रेशन दिन सक्ने किसिमका प्याकेजको विकास गर्न जरूरी छ । २०७३ सालमा ‘नेपाल घुमफिर वर्ष’ अभियान सञ्चालन ग¥यांै । आन्तरिक पर्यटन पनि हुन्छ । आन्तरिक पर्यटकले पनि घुम्नुपर्छ र उनीहरूलाई घुम्ने वातावरण बनाउनुपर्छ भन्ने कुराको जागरण भएको छ ।

यो त प्रष्टै छ, तर यसका लागि मन्त्रालयको कार्यक्रम चाँहि के छ ?

हामीले यस वर्ष तीनवटा कार्यक्रमलाई व्यापकरुपमा अगाडि बढाउने तयारी गरेका छौं । पहिलो, स्थापित गन्तव्यको पवद्र्धन गर्ने जस्तै आन्तरिक पर्यटकको स्थापित गन्तव्य काठमाडौं, पोखरा र चितवन हुन् । यसमा निजी क्षेत्रकै नेतृत्वमा हान, टान, नाटालगायत नेतृत्वदायी संस्थाको नेतृत्वमा हामीले विभिन्न अभियान अघि बढाउन खोज्दै छौं । दोस्रो, पर्यटनको बिबिधिकरणः रारा, खप्तड, पाथिभरा, गढीमाई जस्ता आन्तरिक पर्यटन प्रबद्र्धन गर्न सकिने अवसर भएका अन्य गन्तब्यहरुमा पर्यटनबोर्डको साधनस्रोत र मन्त्रालयको समन्वयमा सरकारको नेतृत्वमा अगाडि बढ्ने योजना रहेको छ । अर्थात जहाँ व्यापारिकरुपले सहज फिजिबल भईसकेको छ त्यहाँ निजी क्षेत्रको नेतृत्व र जहाँ नाफा नदेखेर व्यापारीहरु आफै जाने अवस्था छैन त्यहाँ सरकारी पक्षको नेतृत्व गरेर अगाडि बढ्दै छौं ।

आन्तरिक पर्यटक नै दिगो पर्यटन विकासको मूल आधार हो भन्ने थाहा हुँदाहुँदै पनि किन हामी आन्तरिक पर्यटन प्रवद्र्धनमा फोकस हुन सकेनौं ?

पर्यटक भनेपछि विदेशी मात्र हुन् भन्ने किसिमकोे आम बुझाई छ । सरकारी प्राथमिकता र निजी क्षेत्रको बुझाई त्यस्तै छ । कुनै पनि कुरामा सरकार र निजी क्षेत्र छुट्टाछुट्टै गर्न सक्ने होइन । सरकारी प्रयास निजी क्षेत्रको सहयोगबाट अघि बढ्छ । यो कुरा विगतमा प्राथमिकता दिन सकिएको थिएन । अहिले पनि पर्यटन बोर्ड र पर्यटन मन्त्रालयका कार्यक्रमसँगै निजी क्षेत्र पनि आन्तरिक पर्यटनतर्फ उन्मुख भएको छ । उदाहरणका लागि पोखरालाई लिन सकिन्छ । भूकम्प पछि र द्वन्द्वकालमा पोखरा धानिएको आन्तरिक पर्यटकले नै हो । अहिले पनि करिब ७० प्रतिशत पोखराको होटलको अकुपेन्सी आन्तरिक पर्यटकबाट थेगिएको छ । आन्तरिक पर्यटन विकासमा केही ढिलो भए पनि राम्रा सुरूवात भएकाछन् ।

आन्तरिक पर्यटन प्रबद्र्धनका लागि मन्त्रालयको तयारी कस्तो छ ? आन्तरिक पर्यटकमा बृद्धि भएर गौरव गर्नुपर्ने दिन कहिले आउला ?

पर्यटनमा एकै पटक नतिजा देखिन गाह्रो हुँदोरहेछ । यो भ्रमणकर्ताको मानसिकतामा आउनुपर्ने परिवर्तन हो । फलानो ठाउँ म जान आवश्यक छ । त्यसका लागि सपोर्ट गर्ने सरकारले कसरी हो त भने घुम्ने धारणा सम्बन्धित व्यक्तिले नै बनाउनुपर्छ । उसलाई घुम्नका लागि त्यो वातावरण निजी क्षेत्रले बनाउने हो । जस्तैः पूर्वाधार दिनुप¥यो । हरेक मान्छे अहिले रारा गएर फर्किन चाहन्छ । तर, रारा पुग्ने पूर्वाधार कस्तो छ ? पर्सी काम भएको मान्छे भोलि फर्किन सक्छु भन्ने कुराको एसुरेन्स नपाउँदासम्म जाँदैन ।

यसमा त पूर्वाधारले महत्व राख्छ, पुर्वाधार विकास तर्फ मन्त्रालयले के कति काम गर्छ ?

म तपाईको कुरामा सहत छु, हाम्रा पूर्वाधारमा भएका कमीलाई पनि मन्त्रालयले छिचोल्दै छ । जस्तैः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अपग्रेडेशनको प्रोजेक्ट । पोखरा एयरपोर्ट चार वर्षपछि बनिसक्ने कुरा थियो । तर, यसको प्रगति राम्रो हुन सकेको छैन । लुम्बिनी एयरपोर्ट लगायत आन्तरिक हवाईउडान र सडकको गुणस्तर सुधार गर्ने कुराहरुमा सरकारका सबै निकायहरुको समन्वय उत्तिकै जरुरी हुन्छ । अहिले हाम्रो ध्यान यिनै क्षेत्रहरुतर्फ केन्द्रित छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको स्तरोन्नती, भैरहवा, पोखरा, धनगढी, विराटनगरलाई अन्तर्राष्ट्रिय विमान स्थल बनाउने प्रयास भईरहेको छ । यसैगरी निजी तथा साझेदारी परियोजनाबाट पनि धेरै क्षेत्रमा पूर्वाधार विकासको काम भईरहेको छ ।

अब वाह्य पर्यटकको कुरा गरौं, खासगरी जापानी पर्यटकको आगमन कस्तो छ ?

भूकम्पपछिका ३ वर्षमा विशेषगरी वाह्य पर्यटकको आगमनमा बृद्धि भएको छ । त्यसमा पनि जापानी पर्यटकहरुको संख्यामा उल्लेख्य छ । जापानले नेपाललाई हरेक कुरामा सहानुभूति दिदैं आएको छ । भूकम्पको बेला भन्नुस् या अरु बेला जापानले नेपाललाई सहयोग गरेको छ । नेपाललाई सहयोग गर्न पाऊँ भन्ने त्यहाँका नागरिकहरुको चाहना छ । विशेष गरी जापानी धार्मिक पर्यटकहरु नेपाल आउने गरेकाछन् । यसका साथै जापानले नेपालका क्षेत्रमा लगानी गरिरहेको छ, शैक्षिक, जलविद्युत होस या पूर्वाधार विकास ।

अन्त्यमा, जापानी पर्यटकलाई सहजै नेपाल भित्र्याउन मन्त्रालयले के गर्न सक्छ ?

हामीले प्रचारप्रसारमा विशेष जोड दिएका छौं । पूर्वाधार विकासँगै नेपालको पर्यटनलाई विश्वभर फैलाउन विभिन्न प्याकेजहरु निर्माण गरिरहेको छौं । खास गरी जापानको हकमा चाँही अबको केहि वषभित्रै नेपाल वायु सेवा निगमको विमानमार्फत सिधा उडानको तयारी हुँदैछ । हामीले महशुस गरेको छौं, धेरै जापानी नागरिकहरु नेपाल घुम्न चाहन्छन् । सबैको सहजताका लागि हामीले नेपाल–जापान सिधा उडानको तयारी गरिरहेका हौं ।

तपाईको प्रतिक्रिया