समृद्ध गलकोटका लागि सञ्चार माध्यमको भूमिका

विषय प्रवेश

समृद्ध शब्दको अर्थ उन्नति–प्रगति भएको, विकसित, सम्पन्न भन्ने हुन्छ । गलकोट भन्नाले धौलागिरि अञ्चल बागलुङ जिल्लाका पाँच प्रमुख क्षेत्रहरु सदरमुकाम क्षेत्र, दक्षिण क्षेत्र, गलकोट क्षेत्र, बुर्तिबाङ क्षेत्र र ढोरपाटन क्षेत्र मध्येको विशिष्ट प्राकृतिक, ऐतिहासिक, सामाजिक , सांस्कृतिक पहिचान भएको भौगोलिक क्षेत्र हो । जिल्ला सदरमुकाम बागलुङ बजार देखि झण्डै १६ कि.मि.मध्य पश्चिममा गलकोट क्षेत्र पर्दछ । गलकोट सामाजिक,आर्थिक, सास्कृतिक र भौगोलिक विविधता भएको क्षेत्र हो । वर्तमान समयमा गलकोट क्षेत्र भन्नाले बागलुङ जिल्लाका १० ओटा स्थानीय तह मध्ये गलकोट नगरपालिका (साविकका हरिचौर,नरेठाटी, दुदिलाभाटी, हटिया, मल्म, काडेबास, रिघा र पाण्डवखानी गा.वि.स.लाई समेटएका ११ वटा वडा) र ताराखोला गाउँपालिका (साविकका तारा, अर्गल, हिल र अमरभूमि गा.वि.स.लाई समेटिएका ५ वटा वडा ) लाई बुझिन्छ ।
सञ्चार भनेको सूचना, सन्देश, समाचार आदिलाई एक ठाँउबाट अर्काे ठाँउमा पठाउने काम वा प्रक्रिया हो । आधुनिक युगमा सञ्चार माध्यमको ठुलो महत्व छ । बर्तमान समयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, फ्याक्स, टेलिफोन, मोवाइल, हुलाक आदि हुन् ।
एक्कइसौँ शताब्दी सूचना र प्रविधिको युग हो । व्यापक भूमण्डलीकरण, ज्ञान विज्ञान, सञ्चार, यातायाात, जीवनप्रतिको सोच जस्ता विषयमा धेरै परिवर्तन आएको छ । विज्ञान प्रविधिमा नयाँनयाँ आविष्कार भएका छन् । एक्काइसौँ शताब्दीको दोस्रो दशकमा आइपुग्दा सञ्चार माध्यमहरु पनि गुणात्मक रुपमा बृद्धि भएका छन् । बागलुङ जिल्लाको मध्य क्षेत्र गलकोटलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसँग साक्षात्कार गराउदै समृद्ध बनाउन सञ्चार माध्यमको महत्वूर्ण भूमिका रहेको छ ।

गलकोट क्षेत्रको भौगोलिक परिचय

सार्वभौमसत्ता सम्पन्न नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत धवलागिरि अञ्चलका चार जिल्लाहरु मध्यको दक्षिण पश्चिममा झण्डै नेपालको आकारमा फैलिएको जिल्ला बागलुङ हो । नेपालका दस साना जिल्लाहरु अन्तर्गत पर्नेे यस जिल्लाको पुरानो सदरमुकाम गलकोट जिल्लाको मध्य पश्चिममा अवस्थित छ । गलकोट ८३ड्ढ,१७” देखि ८३ड्ढ,८४” पूर्वी देशान्तर र २८ड्ढ, ०९” देखि २८ड्ढ, १९” उत्तरी अक्षांस भित्र अवस्थित छ (थापा;२०५०ः१९) । मध्यकालका साथै नेपाल एकीकरणको केही समयसम्म गलकोटको सीमाना पूर्वमा बिहूको काठेखोला, पश्चिममा पाण्डवखानीको काभ्रेखोला, उत्तरमा म्याग्दी रुमको देउराली र दक्षिणमा निवुवाखोला मानिन्छ (चोखाल;२०६१ः१७) । तत्कालीन अवस्थामा यो चौबिसे राज्य अन्तर्गतको शक्तिशाली र सम्पन्नशाली राज्य थियो । तर हाल गलकोट क्षेत्र भन्नाले बागलुङ जिल्लाको क्षेत्र नं.१ अन्तर्गतका हिल, तारा, अर्गल, अमरभूमि,हरिचौर,नरेठाँटी र दुदिलाभाटी क्षेत्र न.२का मल्म,काँडेबास र हटिया तथा क्षेत्र नं ३ का पाण्डवखानी, रिघा,सिसाखानी र दगातुन्डाडा गरी १४ गा.वि.स.लाई बुझिन्छ (थापा;२०५०ः१९) । राज्यको पुसंरचा असार नेपालको प्रदेश नं बागलुङ क्षेत्र नं प्रदेश नं. क का गलकोट गरपालिका र ताराखोला गाउँपालिकाको समग्र एकाइलाई बुझिछ । यहाँको सबभन्दा अग्लो पर्वत घुम्टे (१०,३९३फिट) मल्म, हरिचौर, पाण्डवखानी र हिलको सङगम स्थलमा अवस्थित छ । यस चुचुरोबाट गलकोट क्षेत्रलाई अवलोकन गर्दा चारैतिरबाट पहाडले घेरेको बिच भागमा समथर टार,भिराला पाटा, अग्ला पहाडहरु, मौसमी तथा बाह्रमासे खोलाहरु, झरना र भिर पहराले युक्त चित्ताकर्षक प्राकृतिक दृष्यावली भएको थाल जस्तो उपत्यका देखिन्छ । यहाँका धरातललाई सामन्यतया लेकाली,पहाडी र बेसी गरी तीन तहमा विभाजन गर्न सकिन्छ । यहाँ ठण्डा, समोशितोष्ण र अर्धोष्ण जलवायुको प्रभाव पाईन्छ । बिभिन्न जडीबुटी, पशुपङ्क्षी, स्लेट ढुङ्गाका खानीहरु, जल तथा मनोरम प्राकृतिक स्थल यहाँका अमूल्य नीधि हुन ।

गलकोट क्षेत्रको ऐतिहासिक परिचय

विक्रमको पन्ध्रौ शताब्दीको अन्त्यतिर कर्णाली प्रदेशमा रहेको शक्तिशाली खस राज्य टुक्रिदै ससाना बाइसे चौबिसे राज्यमा परिणत हुदै गयो । फलस्वरुप सत्रौं शताब्दीमा आइपुग्दा चौबिसे राज्य अन्तर्गत आत्रेय वंशी मल्ल राजाले स्वतन्त्र गलकोट राज्य खडा गरे (थापा;२०५०ः६) । यिनीहरुको आगमन पूर्व यस गलकोट क्षेत्रमा मङ्गोलियनहरुको बसोबास र टाकुरे मगरहरुको रजाई रहेको पाइन्छ । पर्वतका राजा प्रतापी नारायणले आफ्ना तीन भाइ छोराहरुलाई अंश दिने क्रममा जेठा छोरा जितारी मल्ललाई गलकोट राज्य दिएका थिए भने पैतृक सम्पत्ति स्वरुप गलकोट राज्य प्राप्त गरे पछि राजा जितारी मल्लले म्याग्दीको ठोरलथानबाट ब्राहमण,थापा, बस्न्यात, खडका, चोखाल, कार्की आदि एघार थरि जाति आफ्नो साथ लिई वि.सं. १६३१मा पहिलो पटक प्रवेश गरेका थिए (चोखाल;२०६१ः१८ ।
यस तथ्यले पहिले मङ्गोलियनको बसोबास भएको र पछिमात्र आर्यहरु प्रवेशगरी बसोबास गर्दै आएको देखिन्छ । राजा जितारी मल्लको समय (वि.सं.१६३१) देखि राजा जगतबम मल्ल(१८४४)को समयसम्म गलकोट स्वतन्त्र राज्यको रुपमा पाइन्छ । यस अपधि पछि गोर्खाली राजा बहादुर शाहको नायवी कालमा वि.सं. १८४४ जेठको अन्तिम सातातिर विशाल नेपालमा मिसाइएको थियो (गौतम;२०४४ः१८) । यही अवधीमा वि.सं. १६९७मा गलकोटका तेस्रो राजा विभू मल्ल दिल्लीका बादशाहलाई सिर्ताे चढाउन गइ लामो समयसम्म नफर्किदा राज्य राजा बिहीन भएकोले राजा मरे भनी चोखाल काजी आफै राजा भएको घोषणा गरी केही समयसम्म शासनको बागडोर आफ्नो हातमा ल्याएको देखिन्छ (चोखाल;२०६६ः२१) ।

वीरबहादुर चोखाल

नेपालको एकीकरण भएपछि पनि २०१७ सालसम्म राजा जितारीबम मल्लका उत्तराधिकारीहरुले शासन गर्दै आएका हुनाले गलकोट क्षेत्र आफ्नै विशिष्ट पहिचानमा परिचित छ । गलकोट राज्यका बारेमा विदेशी यात्री ह्यालमिन्टनको भनाइअनुसार ‘गलकोट सानो राज्य थियो । राजाको दरवार पहाडको टाकुरामा थियो । यहाँ तामाका ३ खानी र फलामको १ खानी थियो । यसैगरी कर्क प्याट्रिकले गलकोट एउटा ठूलो शहर थियो र गलकोट नामको एउटा ठूलो किल्ला थियो भनेका छन (गौतम;२०४४ः१८–२२) ।

गलकोट क्षेत्रको सांंस्कृतिक परिचय

गलकोटका आदिवासी मङ्गोलियन मूलका मगर, गुरुङ हुन । विद्वानहरुका अनुसार स्थान विशेषकोे नामाकरणहरुमा भोट– चिनियाँ परिवारका भाषामा “ङ”वर्णको प्राधान्य हुन्छ । संस्कृतमा ङ वर्ण थिएन । नेपालीमा ङ वर्ण हुनु भोट चिनियाँको प्रभाव हो । मगर भाषा अनुसार राखिएका बागलुङ, बुर्तिबाङ, भल्साङ ,गल्याङ, हिस्लाङ,लाभाङ, दर्लिङ, तित्याङ, बोबाङ, खर्बाङ जस्ता स्थानका नामको अन्त्यमा ङ वर्ण हुनुले बागलुङ जिल्लाकै आदिवासी मङ्गोलियन नै हुन। यहाँका मङ्गोलियनहरुले आफ्ना् भाषा र संस्कृतिलाई जीवन्त दिन सकका भने छैनन । बर्तमानमा गलकोटमा आर्य संस्कृति र मङ्गोलियन संस्कृति बीच समायोजन भएको छ ।
जन्मदेखि मृत्युसम्मका संस्कार,रीतिरिवाज,पहिरन,ललितकला (चित्रकला, मूर्तिकला, वास्तुकला), साहित्य सङ्गीत कला,रहनसहनमा मौलिकपन रहेको छ । घाटु, सोरठी, गोपिचन, मालसिरि, साराङ, यानीमाया, सुनिमाया, नानी लै, सालैजो, विनासाले, चुडका, द्यौसी, भैलो, भजन ,घुम्टे साहिलो, रत्यौली कौडा, वालीजस्ता दर्जनौ लोपोन्मुख संस्कृति रहेका छन् । सिस्नोखोस्ने नृत्य,सामुहिक खेती भुष पोल्ने(कार्तिके मेला), असारे मेला, होली पूर्णिमा मेला,बैशाख पूर्णिमा, गलकोट घुम्टे गुराँस उत्सव, सामुहिक वनभोज वस्ता पर्वको आफ्नो पहिचान रहेको छ । यसरी हेर्दा गलकोट क्षेत्रका आदिवासी मङ्गोलियन भए पनि बसाइँ सराइँका कारण अहिले विविध प्रकारका जाति र जनजातिको प्रभाव पाइन्छ । ऊनीहरुको भाषा, संस्कृति र जीवन पद्दतिमा एक आपसमा प्रभावित भएको छ । यहाको सांस्कृतिक रीतिरिवाजले आफ्नै मौलिकता बोकेको छ । संस्कृतिलाई कसैले बिगार्ने र भत्काउने काम गरेका छैनन् । भावी पुस्तालाई समेत यो राम्रो दृष्टान्त बन्न सक्छ ।

गलकोट क्षेत्रको सामाजिक परिचय

बागलुङ जिल्लको केन्द्रमा रहेको गलकोट सामाजिक,आर्थिक ,प्राकृतिक र सांस्कृतिक विविधताको सङ्गम हो । शैक्षिक दृष्टिकोणले गलकोट क्षेत्र अगाडि छ । शिक्षा क्षेत्रमा कसैलाई न्यायमूर्ति बनाइ देश विकासमा खटाएको छ । कसैलाई राष्ट्र सेवक कर्मचारी बनाइ देशका गौडागौडामा पु¥याएको छ । यहाँ एउटा बहुमुखी क्याम्पस, गलकोट क्षेत्रका १६ वडामा माध्यमिक विद्यालय रहेका छन । प्राय वडामा आधारभूत विद्यालय, प्राथमिक विद्यालयहरु,एउटा संस्कृट पाठशाला र एउटा मदरसा सञ्चालनमा रहेका छन् । ताराखोला गाउँपालिकामा १ र गलकोट नगरपालिकामा ९ वटा संस्थागत विद्यालयहरु रहेका छन । शाति सुरक्षाका लागि दुई इलका प्रहरी कार्यालय र दुई प्रहरी चौक िरहेका छन ।
गलकोटेहरुको मुख्य पेसा कृषि हो । परम्परागत खेतीका साथै उन्नत र व्यवसायिक खेती एवं पशुपालन अबलम्वन गरिएको छ । कृषि बाहेक ब्यापार,उद्योग, शिक्षण आदिमा ब्यस्त छन भने धेरैजसो युवा शक्ति जापान, अष्टेलिया, अमेरिका, यूरोप, खाडी मुलुकमा राजगारीका लागि सेना,पुलिस,श्रमिकका रुपमा विदेश पलायन भएका छन् । नेपालकै महत्वपूर्ण राष्ट्रिय गौरवको योजना पुष्पलाल मध्य पहाडी लोकमार्ग गलकोटको मुख्य बजार हटिया हुदै ८ वडाहरुलाई प्रत्यक्ष छोएको छ भने सबै वडामा कच्ची मोटरबाटो पुगेको छ । मध्य पहाडी लोकमार्गको घोडाबाँधेदेखि हटियासम्म र हटियादेखि बुर्तिबाङसम्म ६३ कि.मि सडक स्तरोन्नति तथा कालोपत्रे हुदैछ । स्वास्थ्य क्षेत्रमा एक प्राथमिक स्वास्थ्य केन्द्र, ३ निजी अस्पताल, प्राय सबै वडाहरुमा स्वास्थ्य चौकी, निजि मेडिकल हल रहेका छन् । आर्थिक क्षेत्रमा क वर्गका र्४ बैङ्कका शाखा तथा उपशाखा, एउटा घ वर्गको बैङ्कको शाखा ,गाउँ गाउँमा बहुउद्देश्यीय–विषयगत–बचत तथा ऋण सहकारी संस्था क्रियाशील रहेका छन् । केही गैर सरकारी संस्थाले लघु वित्त कार्यक्रम समेत सञ्चालन गरिरहेका छन् । मुख्य बजारहरु हटिया, हरिचौर लगायतका क्षेत्रमा मनि ट्रान्सफर कम्पनीहरुले सेवा प्रदान गरेका छन् ।
सुरक्षा तर्फ दुई इलाका प्रहरी कार्यालय दुई प्रहरी चौकी रहेका छन् । गाउँगाउँमा केन्द्रीय विद्युत लाइन बिस्तार भएकोछ भने उर्जा,माइक्रो हाइड्रो विद्युत घर घर पुगको छ । सौर्य उर्जाको पनि बिस्तार भएको छ । यहाँको जग्गाको मूल्य सदरमुकामको जग्गाको मूल्यको हाराहारी छ । समग्र गलकोट क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले गलकोट घुम्टे पर्यटन विकास केन्द स्थापना भएको छ । जसले पर्यटन बोर्ड र मन्त्रालयसँग समन्वय गरेर घुम्टे लेकलाई गुराँसको पहाड घोषणा गर्न, १० बुँदे घोषणा पत्र र १३ बुँदे नीति तथा कार्यक्रमहरु परित गरेर ‘स्टोन भेलेज, होम स्टे’ को अवधारणा सहित गलकोट घुम्टे क्षेत्रलाई जैविक विविधता र सांस्कृतिक विविधता अनुसन्धान केन्द्रका रुपमा विकास गर्न घुम्टे धुरीको गुराँस पदमार्ग र रिङरोडको कार्य थालनी गरेको छ । गलकोट कै गौरव गाईघाट झरनाको स्तरोन्नति घएको छ । गलकोटको विकासका लागि स्थानीय तथा जिल्ला तहका सरकारी–गैर सरकारी संस्थाहरु क्रियाशील छन् ।
गलकोट क्षेत्रका अधिकांस बासिन्दा हिन्दू धर्मालम्वी रहेका छन् । हिन्दू धर्म बाहेक बौद्ध र इस्लाम धर्मालम्वी पनि रहेका छन् । यहाँका मानिसहरु धर्म,कर्म र पुनर्जन्ममा विश्वास गर्छन् । हिन्दूहरुको बाहुल्यताका कारण प्रत्येक टोलमा मठ मन्दिर छन् । हालै मात्र रिघामा बौद्ध गुम्बाको निर्माण भएको छ । धार्मिक पिठमा देव देवीको पूजा गर्न भक्तजनको घुइचो लाग्छ । महाँका मानिसहरु परम्परागत स्ांस्कृतिको संरक्षण गर्नु कर्तब्य ठान्छन् । गलकोट क्षेत्रमा मेला लाग्ने गर्छ । यहाँका मुख्य चाड पर्व र स्थलको आफ्नै मौलिकता रहेको छ । बैशाखमा घुम्टेमा मेला लाग्छ ,पाण्डवखानीमा घाटु नृत्य प्रदर्शन गरिन्छ । असारमा ताराखोलामा मेला लाग्छ । श्रावण भाद्रमा हटिया हरिचौरमा वर्षे जात्रा प्रदर्शन गरिन्छ । कार्तिकमा अर्गलमा छापे पर्व मनाइन्छ । द्यौसी धैलो खेल्ने ,पिङ खेल्ने सोरठी नाच्ने गरिन्छ । चैते दसैंमा गलकोट कोटमैदानमा भव्य मेला लाग्छ ।

गलकोट क्षेत्रमा सञ्चार माध्यमको अवस्था

सूचना प्रवाह गर्नु सञ्चार माध्यमको मूल विशेषता हो । बागलुङ जिल्लाको पुरानो प्रशानिक इकाइ समेत रहेको गलकोट क्षेत्रमा सञ्चारको परम्परागत माध्यम कटुवाल प्रथा यद्यपि कायम छ । आधुनिक सञ्चारका माध्यमहरुमा हातहातमा मोवाइल सेवा पुगेको छ । टेलिभिजन, टेलिफोन रेडियो, पत्र पत्रिका, इमेल, इन्टरनेट, हुलाक यहाँका सशक्त सञ्चार माध्यम हुन् । गलकोटमा तीन इलाका हुलाक र ९ अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन् । हटिया र हरिचौर बजारमा नेपाल टेलिकमको ल्याण्ड लाइन सेवा सहित अन्य क्षेत्रमा नेपाल टेलिकमको मोवाइल नेटवर्क, एलसेल नेटवर्क गाउँगाउँमा बिस्तार भएको छ । नेपाल टेलिकमको वाई म्याक्स तथा पोखरा इन्टरनेट बजारदेखि गाउँसम्म विस्तार भएको छ । केबुल टेलिभिजन र स्थानीय केबुल मार्फत घरघरमा टि. भी. राखिएको छ । सदरमुकामबाट प्रकाशित पत्रपत्रिका र प्रशारण रेडियोको पहूँच गलकोट क्षेत्रको सबै गाउँबस्तीसम्म पुग्न सकेको छैन ।
पत्रकारीताको सन्दर्भमा वि.सं.२०५४मा गलकोट स्तरीय ग्रामीण सञ्चार केन्द्र गठन गरी मुख्य बजार हटिया र हरिचौरमा भित्ते पत्रिका प्रकाशन गरीऔपचारीक पत्रकारीता सुरु गरिएको थियो । यसै सन्दर्भमा गलकोट सूचना तथा सञ्चार सहकारी संस्था लि. हटियाद्वारा वि.सं.२०६७ फागुन २ मा पहिलो पटक ‘स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर’ भन्ने मान्यताका साथ मुद्रण पत्रकारिताको रुपमा गलकोटपत्र साप्ताहिक नियमित रुपमा प्रकाशन हुदै आइरहेको छ । वि.सं.२०६८ साउन १४देखि प्रशारण हुदै आएको “समृद्ध गलकोटका लागि” सामुदायिक रेडियो गलकोट एफ.एम. १०२.४ मेगाहर्ज गलकोट क्षेत्रलाई सुसुचित गर्ने सशक्त सञ्चार माध्यम हुन् । १०० वाट क्षमताको यो रेडियो ५०० वाट क्षमता बृद्धि हुने प्रक्रियामा छ । यसका साथै ताराखोला गाउँपालिकामा पनि यही आर्थिक वर्षमा सामुदायिक रेडियो गुराँस स्थापना हुने चरणमा छ । अनलाइन मिडयाको रुपमा गलकोट खवर डटकम, गलकोट एफ.एम. डट कम सञ्चालमा छन भने जनहित खवर डट.कम., नयाँ विश्व डट कम, जनमञ्च डटकम, इ बागलुङ डट कमले गलकोटमा सूचना र सञ्चारको प्रभावशाली प्रवाह गरेका छन । यसका अतिरिक्त साहित्यिक पत्रिका गुराँस, बिभिन्न विद्यालयमा प्रकाशितहुने भित्ते पत्रिका र स्मारीका पनि यहाँका सञ्चार माध्यम हुन् ।

सञ्चार माध्यमको भूमिका

समृद्ध गलकोटका लागि स्थानीय सञ्चार माध्यमहरुले खेलेका भूमिका यस प्रकार रहेका छनः
संचार माध्यमले हुने सरकारी, गैर सरकारी सहकारी सहभागी तथा राजनैतिक कार्यक्रम तथा गतिविधि वारे ग्रामीण क्षेत्रका जनताले तल्काल सुन्ने, पढने र यसवारे धारणा गराउन पाएका छन् ।
समाजमा हुने सकारात्मक र नकारात्मक विषयवस्तुको उठान गरी राम्रो काम गर्नेलाई हौसला दिने र नराम्रो काम गर्नेलाई हच्किने अवस्था सिर्जना गरेको छ ।
जनतालाई सेवा सुविधा दिने कार्यालय संघ संस्थाहरुमा कमजोरी भयो भने संचार माध्यममा पुग्छ भनेर सर्तक गराउने काम भएको छ ।
ग्रामीण क्षेत्रमा लुृकेर रहेका प्रतिभाहरुलाई आम रुपमा पहिचान गराउन अवसर प्रदान गरेको छ ।
संचार माध्यम ग्रामीण जनताको चेतना अभिवृद्धिमा प्रभावकारी साधन बनेको छ ।
दक्ष प्राविधिक तथा संचारकर्मीको उत्पादन तथा विस्तार भएको छ ।
गलकोट क्षेत्रका ऐतिहासिक, सामाजिक, साँस्कृतिक, कृषि, पर्यटन, धर्म, शिक्षा, यातयात, स्वास्थ्य, साहित्य तथा अन्य सरोकारका विषयमा सूचनामूलक तथा जानकारीमूलक एव खोजमूलक सामग्रीका प्रकाशन तथा प्रशारणद्वारा उजागर र प्रवद्र्धन गरेको छ ।
देश विदेशका समाचारबारे जानकारी पाउनका लागि राजधानी र जिल्लाबाट प्रकाशन तथा प्रशारण हुने संचार माध्यमको भर पर्नुपर्ने र त्यसमा पनि स्थानीय समाचारले प्राथमिकता नपाउने अवस्थालाई स्थानीय स्तरबाट संचालन भएका संचार माध्यमले हटाइदिएका छन् ।

स्थानीय सञ्चार माध्यमका चुनौति

हरेक संभावनाका अगाडि गंभिर चुनौतिहरु रहेका हुन्छन् गलकोट क्षेत्रमा संचालित संचार माध्यमले निम्नानुसार चुनौती सामान गर्नु परेको छ ।

  • संचार माध्यममा लगानी गर्दा तल्काल लगानी अनुसारको आर्थिक प्रतिफल पाउन नसकिने धारणाले लगानीकर्तालाई प्रभाव पारेको छ ।
  • ग्रामीण क्षेत्रमा कुशल र दक्ष जनशक्तिको अभाव र उत्पादन भएका जनशक्ति पनि सेवा सुविधाको कारण टिकाउन समस्या रहेको छ ।
    आवश्यक प्रविधि समयमा भित्राउन तथा मर्मत सम्भारको लागि समय लाग्ने गरेको छ ।
  • इन्टरनेट, विद्युत तथा यातयातको झमेला खेप्नु परेको छ ।
  • भौगोलिक विविधता तथा विकटताका कारण ग्रामीण क्षेत्रमा रेडियो र पत्रिका र अनलाइन खवरकोे पहुच पुग्नसकेको छैन ।
    ग्रामीण क्षेत्रका संचार माध्यमका लागि प्रवद्र्धनका लागि राज्यको स्पष्ट नीति नहुनु,
  • राजनैतिक दल, स्थानीय तहका पदाधिकारीहरु, सरकारी कार्यालय, गैर सरकारी संघ संस्था र समाजका अगुवाहरुले आफुलाई आवश्यक पर्दा जतिवेला पनि संचार माध्यमको सेवा उपभोग गर्ने तर संचारमाध्यमलाई आवश्यक परेको वेला तर्कने प्रवृती रहको छ ।
  • राजधानी तथा जिल्ला सदरमुकामबाट प्रकाशन हुने संचार माध्यमसंग स्थानीय संचार माध्यमको तुलना गरि नकारात्मक धारण अभिव्यक्ति गर्ने प्रवृत्ति रहेको छ ।
  • पूर्ण रुपमा श्रमजीवी पत्रकार ऐन लागू गर्न सकेको छैन ।
  • समय सापेक्ष तालिम तथा पुनर्ताजगी तालिमको समुचित व्यवस्था हुन सकेको छैन ।
  • संचार माध्यम भित्र प्रवेश गर्ने जनशक्ति लामो समय सम्बन्धित विषयमा अध्ययन गरेर प्रवेश गर्नेको संख्या भन्दा स–साना आधारभूत तालिम मार्फत प्रवेश गर्नेको बाहुल्यता रहेको छ ।

    निष्कर्ष

    एक्काइसौँ शताब्दी सूचना र प्रविधिको युग हो । जहाँ सूचना र प्रविधिको अधिकतम उपयोग हुन्छ त्यो क्षेत्र विकासको गति संगै अघि बढछ । गलकोट क्षेत्रका पर्यटकीय स्थलहरु घुम्टे लेक, गलकोटे राजाको दरवार, गोलकोट मैदान, निलुवा, शिद्धेश्वर गुफा, भिमसेन गुफा, धुले गुफा, पाण्डुकेश्वर गुफा, गाजा, बाघ ढुङ्गा,गौमती गङ्गा,थाम नेटा, मट्टीमारे,गाइघाट छहरा, भूत्याहको गल्छी, राम्चे ढुङ्गा, भिमसेन टेङ्गा , थालेपोखरा, निहुरेको खाडी, डुडे लेक, शिवको धुरी, लम्बु, जुल्फे, तीनचुले, पञ्चधारा, भिमसेन ढुङ्गा, भातखाने डाडा आदि हुन् । सयौ प्रजातिका बहुमूल्य जडीबुटी,दुर्लभ जङ्गली जनावर अथक जलसम्पदा, वन सम्पदा, स्लेट ढुङ्गा खानी, पचासौं झोलुङगे पुल, कृषि योग्य भूमि, लोपोन्मुख कला संस्कृति आदि गलकोटका मौकि सम्पत्ति हुन् ।
    गलकोट क्षेत्रलाइ समृद्ध गराउनका लागि विकासका पूर्वाधारलाई सबैको पहूचमा पुर्याउनु पर्दछ । यस क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा परिचय गराउन जनतालाई सुसुचित गर्न, प्रचार प्रसार गर्न,ज्ञान विज्ञान र प्रविधिसंग साक्षात्कार गराउनु पर्दछ । त्यसको साधन भनेकै सञ्चार माध्यम हुन् । भएका सञ्चार माध्यमको प्रभावकारी व्यवस्थापन गर्ने र विस्तार गरिनु पर्दछ । सामुदायिक रेडियो गलकोट एफ. एम.,सामुदायिक पत्रिका गलकोटपत्र साप्ताहिक, गलकोट खवर डटकम, गलकोटवासीका सामुदायिक सम्पत्ति हुन् । सञ्चार माध्यमको प्रबद्र्धन गर्नु भनेकै समृद्ध गलकोट निर्माणको अभियानमा जुटनु हो । विश्व भूमण्डलीकरणको युगमा सूचना र प्रविधिलाई सशत्त बनाउनु भनेकै समृद्ध समाज बनाउँनु हो । समृद्ध गलकोटका लागि सञ्चार माध्यम समुदायमुखी हुनु पर्छ । स्थानीय सञ्चार माध्यमले उत्पादन,प्रशारण र प्रकाशन गरिने सामग्री औपचारिकतामा मात्र सीमित गरिनु हुदैन ।
    समाज रुपान्तरण गरी समृद्ध बनाउनका लागि सञ्चार माध्यमको अहम् भूमिका रहन्छ । बागलुङ जिल्लाको ऐतिहासिक क्षेत्र गलकोट र यसको आसपासमा रहेको क्षेत्रमा संचारको माध्यमबाट सुसुचित गराउनको लागि सामुदायिक रेडियो गलकोट एफ.एम.१०२ थोप्लो ४ मेघाहर्ज र गलकोटपत्र साप्ताहिकको उल्लेख्य भूमिका रहेको छ । सञ्चारलाई एउटा उद्योगका रुपमा ग्रहण गरी यसको सवलीकरण सुदृढीकरणका लागि उद्यमीले योजना सहित सञ्चालन गर्ने, राज्यका निकायहरुले विकास निर्माणको साझेदारका रुपमा ग्रहण गर्ने र आमजनताले आफ्नो आवाज वोल्ने माध्यमका रुपमा लिने तथा सञ्चारकर्मी र सञ्चार गृहका सञ्चालकहरुलाई सञ्चार माध्यमलाई सबैको साझा बनाउनमा सबैको भूमिका र योगदान आवश्यक छ । सञ्चार माध्यमले जनतामा चेतनाको जागरण ल्याउने भएकाले स्थानीय तह, राजनीतिक दल र सरोकारवालाले आग्रह पूर्वाग्रह विना यसको संरक्षण र सम्बद्र्ध गरिनु पर्दछ ।
    सन्दर्भ सामग्री
    गौतम, कृष्णप्रसाद,(२०४४),“गलकोट राज्यको ऐतिहासिक रुपरेखा”,काठमाडौंः त्रि.वि. ईतिहास स्नातकोत्तर तहको शोधपत्र (अ.प्र)
    चोखाल, वीरबहादुर,(२०६१),“नेपाली लोकगीतको विकास परम्परामा गलकोट क्षेत्रका लोक गायकहरुको योगदान” , त्रि.वि.म.ब.क्या.बागलुङः नेपाली विभाग स्नातक तहको शोधपत्र (अ.प्र.)
    चोखाल, वीरबहादुर,(२०६६),),“गलकोट क्षेत्रमा प्रचलित सोरठी गीतको अध्ययन” , त्रि. वि. म. ब. क्या. बागलुङःनेपाली विभाग स्नातकोत्तर तहको शोधपत्र (अ.प्र.)
    थापा,डा.दिनबहादुर,(२०५०),“गलकोट क्षेत्रमा प्रचलित लोकगीतको सर्वेक्षण र अध्ययन” , काठमाडौं ः त्रि.वि.नेपाली शिक्षण विभाग,स्नातकोत्तर तहको शोधपत्र (अ.प्र.)

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित