मंगलबार, चैत्र ०६, २०८०
Tuesday, March 19, 2024

काठमाडौं  – नेपाली महाकाव्यको इतिहासमा पहिलोपटक १३ जना कविद्वारा लिखित संयुक्त महाकाव्य ‘आरोहण’ लोकार्पण भएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि समेत महाकाव्य ‘आरोहण’ तयार गरिएकोे प्रकाशक संस्था शिखा बुक्सले जनाएको छ ।

अग्रजदेखि नयाँ पुस्तासम्मका कवि प्राध्यापक गोपीकृष्ण शर्मा, प्राध्यापक राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुरप्रसाद शर्मा भण्डारी, श्रीहरि फुयाल, प्रकाश चापागाईं, नारायणप्रसाद पोखरेल, प्राध्यापक डाक्टर जीवन अधिकारी, डाक्टर रामप्रसाद ज्ञवाली, डाक्टर लेखप्रसाद निरौला, डाक्टर देवी नेपाल, रमेश शुभेच्छु र नारायण निरासीले संयुक्त रूपमा यो महाकाव्य लेख्नुभएको हो ।

झण्डै तीन वर्षको तयारीपछि महाकाव्य तयार भएको काव्यकारमध्येका रमेश शुभेच्छुले बताउनुभयो । यो महाकाव्य २० सर्गमा विस्तारित रहेको र संयोगवश यसमा २० वटै छन्दको प्रयोग भएको अर्का कवि भुवनहरि सिग्देलले जानकारी दिनुभयो । महाकाव्य लेखकहरूका अनुसार यसमा गोरखाको उत्तरवर्ती मसेल बस्तीको कथा छ । विगतको गौरवशाली इतिहास बोकेको गोर्खा जिल्लाले वीरताको सग्लो भार उठाएको छ ।

राम शाह, द्रव्य शाह, पृथ्वीनारायण शाहको राज्य व्यवस्थापन, गोरखकाली, गोरखनाथ र मनकामनाको चर्चा, बाहुन, क्षेत्री, तामाङ, मगर, नेवार, गुरुङको मिश्रित बस्तीका जातजातिमा मेलमिलाप जस्ता विविध पक्ष महाकाव्यमा समेटिएको पनि लेखकहरूले बताएका छन् । महाकाव्यमा देश छाडी विदेश पलायन भएका युवालाई आफ्नै भूमिमा फर्कने आह्वान गरिएको छ ।

प्राकृतिक विपद् या अन्य दुर्घटनाले असर गर्दा पुनर्निर्माणको सुरुवात आफैंले गर्नुपर्ने अभियानको आवाज उठाइएको छ । यस्तै सबै उमेरका व्यक्ति मिलेर सामूहिक श्रमको अवधारणा, आफ्नो गाउँ, माटो, जलवायु हेरी विकासका सम्भावनाको पहिचानसहित गाउँबाटै विकास जस्त पक्षलाई पनि महाकाव्यमा कथाका रूपमा समेटिएको लेखकहरूको भनाई छ ।

तपाईको प्रतिक्रिया