बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

अहिले मुलुक दुई ध्रुवमा हिडिरहेको छ बामपन्थी र लोकतान्त्रिक गठबन्धनमा । मुलुकमा नयाँ संविधान अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तोकिएपछी नयाँ खालको राजनीति तरङ्ग देखियो । नेकपा एमाले र माओबादी केन्द्रले अहिले हुँदै गरेको निर्वाचनलाई लक्षित गरी पार्टी एकता गर्ने सहमतिदेखि निर्वाचन नै संयुक्तरूपमा लड्ने सहमति गरी त्यहीअनुसार अगाडि बढी रहेका छन् । मंसिर १० गतेको पहिलो चरणको निर्वाचन ३२ जिल्लाको ३७ सिटको लागि सम्पन्न भैसकेको छ । नेपाली काँग्रेसले पनि आफुसंग सहमत हुने राजनीति दलसँग गठबन्धन गरेर लोकतान्त्रिक गठबन्धको नारा लगाउँदै अहिले पनि हिडिरहेका छन् । निर्वाचनमा राप्रपा मधेसी देखि नयाँ शक्ति नेपाल पार्टीसंग समेत गठबन्धन गर्न पछि नपर्ने नेपाली काँग्रेसका सभापति तथा मुलुकका प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले अहिले दिनहुँजसो चुनावी सभामा बामपंथी गठबन्धनबाट मुलुक अधिनायकवादमा जाने निश्चित भएको भनेर रोइकराई गरिरहेका छन् ।
साँच्चै यो अधिनायकवाद भनेको के हो कहाँबाट आउछ नेपालमा अधिनायकवाद नेपाली जनताले जान्न चाहिरहेका छन् । आफुलाई प्रजातान्त्रिक पार्टी भनेर दाबी गर्ने नेपाली काँग्रेस जस्तो पार्टील बामपन्थी गठबन्धन र पार्टी एकतालाई अधिनायकवादको बाटो भन्ने अधिकार कसले दियो । अहिले गणतन्त्रमा आफ्नो सिद्धान्त र बिचार मिल्ने राजनीति पार्टी बिच पार्टी एकता चुनावी हुनुलाई अन्यथा मान्न मिल्दैन । अहिले भएको निर्वाचनबाट लोकतान्त्रिक गठबन्धनले बहुमत ल्यायो भने बामपन्थी गठबन्धन वालाले फेरि लोकतन्त्रको नाममा अधिनायकवाद भनेर भन्न मिल्छ त अबश्य पनि नैतिकताले मिल्दैन ।
अहिले दिनहुँजसो काँग्रेस बरिष्ठ नेताहरू मुलुकमा अधिनायकवाद आउँदैछ अब रून पनि सरकारको अनुमति चाहिने अब मुलुकमा निर्वाचन नै नहुने भनेर अफवाह फैलाउने काम गरिरहेका छन् । साँच्चै भन्ने हो भने अहिले बामपन्थी गठबन्धनलाई हेरेर नेपाली काँग्रेस हतास मनस्थितिमा पुगेको आभाष हुन्छ ।

राजेशचन्द्र राजभण्डारी

लोकतन्त्रमा निर्वाचन हुन्छ यसमा पार्टीले उम्मेदवार उठाउँछ जनताको घरमा गएर मत माग्छ निर्वाचन आयोगले निर्वाचन गराउँछ निर्वाचन निष्पक्ष भएको नभएको अनुगमन निर्वाचन परिवेक्षण स्वदेशी विदेशी संस्थाले हेर्छन् सारा दुनियाँको अगाडि भएको निर्वाचनलाई समेत विश्वास गर्न नसक्ने काँग्रेसको हालत साँच्चै भन्ने हो भने दयनीय छ ।
अहिले के साँच्चिकै कम्युनिस्टले मुलुकमा निर्वाचन जितेर गएमा के साँच्चिकै नेपाली जनताले यहाँ रून पनि नपाउने हो त भन्ने खालको हाँस्यास्पद कुरा गरेर अहिले जनताको ध्यान विकेन्दिकृत गर्न खोजेको देखिन्छ । किन अहिले नेपाली काँग्रेसका नेताले भने झै रून पनि सरकारसंग अनुमति लिनुपर्ने हो त भनेर प्रश्न समेत उठी रहेको समयमा त्यसको जवाफ माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा दिनुभएको छ ।
यो कुराको जवाफ म प्रधानमन्त्रीकै भाषामा, देउवाजीकै भाषामा भन्न चाहान्नँ, यसको लागि जति पनि जबाफ दिन सकिन्छ, काँग्रेसले थुप्रै कल–कारखाना, उद्योग–धन्दा कौडीको भाउमा बेचेर थुप्रै जनतालाई रुवायो, हामी त्यसो भन्न चाहन्नौं । काँग्रेसले रुनमात्रै पा¥यो, रुवाएको रुवाएै ग¥यो, हामी अब हसाउन चाहन्छौं – भनेर प्रधानमन्त्री देउवालाई चोटिलो प्रहार गरेका छन् ।
आफुले निर्वाचन जिते लोकतन्त्र रहने अर्को पार्टीले जित्यो भने लोकतन्त्र नै नरहने जस्तो भ्रमको खेती गरेर यतिबेला काँग्रेसका नेताहरूले के साबित गर्न खोजेका हुन् त्यो भने बुझ्न नेपाली जनताले सजिलोसँग सक्नेछन् । हिजो काँग्रेस एमाले गठबन्धन गरेर सरकार चलेको नै हो माओबादी एमाले काँग्रेस को संयुक्त सरकार पनि नचलेको हैन अहिले पनि काँग्रेसको नेतृत्वमा माओबादी केन्द्र पनि सरकारमा सहभागी छ । हिजो शेरबहादुरलाई प्रधानमन्त्री माओबादी केन्द्रले प्रस्ताव गरेर बनाउने काम पनि गरेको थियो अहिले बामपन्थी गठबन्धन गरेको भनी रातारात माओबादीका मन्त्रीलाई जिम्मेवारीबाट हटाउने विनाविभाागीय बनाएको कुरा दुनियाँले देखिरहेको विषय नै हो । अलिकति पनि राजनीति संस्कार र संस्कृति नभएको मान्छेहरू अहिले फेरि अरूलाई नैतिकताको पाठ सिकाउन लागिरहेको देखिन्छ । अधिनायकवाद त अहिले नै शेरबहादुर देउवाले देखाईसकेका छन् ।
अनि भोलि बामपन्थी गठबन्धनले चुनाव जित्यो भने हाँस्न नपाउने बोल्न नपाउने रून नपाउने निर्वाचन नै नहुने भनेर नचाहिने हल्ला मच्चाउनुका पछाडि के कारण छन् त्यसको खोजबिन हुन जरुरी छ । यस्तो खालको कुरा गरे केही भोट चाहिँ बढी हाल्छ कि बामपन्थीप्रतिको जुन जनमत छ त्यसलाई केही तलमाथि पार्न सकिन्छ कि भन्ने मनसाय भन्दा अरू केही पनि देखिदैन ।
अहिले देशमा बामपन्थी गठबन्धनमा रहेको एमाले र माओबादी केन्द्रबिच पार्टी एकता गर्ने भनेर पार्टी एकता संयोजन समिति पनि गठन भएको छ यसलाई राम्रो मान्नुपर्छ अहिले एमाले माओबादीबिच भएको बामपन्थी गठबन्धन कै कारण र निर्वाचन आयोगले बनाएको ३ प्रतिशत थ्रेस होल्डकै कारणले अहिले साना राजनीति दलहरू मर्ज हुँदै गएकै कारणले अहिलेको निर्वाचनमा थोरै मात्र राजनीति दल चुनावमा भाग लिएको कारणले पनि केही सहज बाताबरण बनेको भने पक्का हो अहिले बामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनले निर्वाचनमा पैसा धेरै खर्च गर्ने प्रबृत्तिमा भने कमी आएको देखिन्छ ।
अहिले नेपालमा बामपन्थी गठबन्धन कै कारणले अधिनायकवाद आउने कुरा गरेर स्याल हुइया भने नगर्दा धेरै राम्रो हुनेछ अहिले हिजो १० वर्षसम्म जनयुद्ध गरेर नयाँ जनबादको कुरा गरेको पार्टी समेत शान्तिपूर्ण बाटोमा आएर बहुदलीय प्रणालीमा गैरहेको समयमा फेरि मुलुकमा अधिनायकवाद आउँछ भनेर अब कसैले बिश्वास मान्नेवाला छैन ।
बरू आफ्नो पार्टीलाई कसरी राम्रो बनाउने इमान्दार बनाउने जनमुखी बनाएर नेपाली जनताको मन र विश्वास जित्नेतर्फ लाग्नु नै बुद्धिमानी हुनेछ ।
आफुले अहिले निर्वाचन आचारसंहिता बिपरित मनपरी ढंगले सरकारका मन्त्री हेरफेर गर्ने नयाँ मन्त्री बनाउने कर्मचारी सरूवा गर्दा भने अधिनायकवाद भएन अरूले भोलि गर्छ भनेर रोइकराइ कुन नाकले गर्ने भन्ने कुरा पनि बुझ्न जरुरी छ ।

तपाईको प्रतिक्रिया