प्रकाश र पाख्रिनप्रति श्रद्धासुमन

सशष्त्र जनयुद्धको लामो राप र तापबाट मृत्युलाई जितेर आएका प्रकाश दाहालको गतसाता कलिलो उमेरमै भएको अपत्यारिलो मृत्युवरणले नेपाली समाजलाई स्तब्ध तुल्याएको छ । दाहालको परिचय पूर्ण हुन पिता प्रचण्डको नामसंग जोडिरहन आवश्यक छैन र थिएन पनि । उनी आफैमा लामो संघर्षबाट खारिएर आएका र परिपक्व हुँदैआएका एक युवा नेता थिए । युद्धकालमा पटक पटक जोखिमपूर्ण घटनाबाट ज्यान जोगाएका प्रकाशले आफुलाई मृत्युलाई जितेर आएको नाफाको जिन्दगी भन्ने गर्थे तर गतसाता उनी कहिलै नउठ्ने गरी मृत्यूसंग आफै हारे ।

उनको अवसानले दाहाल परिवारमा मात्र नभएर उनी आबद्ध सिंगो पार्टीपंक्ति र युवा पंत्तिमा चम्किलो प्रकाश सँधैको लागि निभेको आभास भएको छ । चुनावी तालमेल, चुनावपछि पार्टी एकतासम्म पुग्ने गरी भएको एमालेसंगको वामगठवन्धन, स्थायी सरकार मार्फत मुलुकलाई समृद्ध बनाउने सपना बुन्दै गरेका देशकै ठूला नेता प्रचण्डको दाहिने हात बन्दै आएका उनी झम्केसाँझको बेलामा झ्याप्प निभेको बत्तिझै गरी निर्वाचनको पूर्वसन्ध्यामा प्रकाश निभेका छन् । प्रकाश प्रचण्डका एक्ला सुपुत्र मात्र थिएनन्, उनी पार्टीका बिश्वापात्र कमरेड, भरपर्दा सल्लाहकार, कुशल ब्यवस्थापक, सचिवालयका अनुभवी इञ्चार्ज र निकटम सहयोगी एवं सहयोद्धा साथी पनि थिए । प्रचण्डको राजनीतिमा प्रकाशको भूमिकाको सँधै अभाव भईनैरहने छ तथापि पुत्र वियोगको कठोर परिस्थितिबाट पनि धुनमुनिदैं, सम्हालिदैं प्रचण्डले देश र जनताप्रतिको जिम्मेवारीमा आफुलाई दह्रोसंग उभ्याएका छन् । यसप्रकारको अदम्य शक्ति शायद जो कोहीलाई प्राप्त हुँदैन । उनले आफुलाई जस्तोसुकै परिस्थितिमा पनि आफ्नो कर्त्तब्यबाट विचलित नहुने नेताकोरुपमा उभ्याएका छन् । मनभरिको आफ्नो पीडा छातीमा लुकाएर जनताको मन जित्दै अगाडि बढ्दै गरेको प्रचण्डको दृश्यले धेरै कुरा स्पष्ट पारेको हुनुपर्दछ ।

दुई दुई पटक देशका प्रधानमन्त्री भईसकेका पार्टीका शक्तिशाली अध्यक्ष पिता प्रचण्डको एक्ला छोरा प्रकाशले चाहेको भए भनेजस्तै सुखसयल र आरामको जिन्दगी बिताउन सक्थे । देशविदेशमा गएर पढ्न वा ब्यवसाय गर्न सक्थे । तर उनले सँधै समाज र देश परिर्वतनको पक्षमा आफुलाई अनवरतरुपमा समर्पण गरिरहे । नेपालको समकालिन राजनीतिका कुनै पनि राष्ट्रिय नेताको सन्तान सबै सुखसुबिधा त्यागेर प्रकाश दाहालले जस्तै पूर्णकालिन कठोर राजनीतिमा होमिएको दृष्टान्त कतै पाईदैन । यद्यपि एकाध घटनालाई लिएर नेपाली मिडिया बजारमा जीवनभरि उनको नकरात्मक पाटोलाई मात्र उधिन्ने काम भयो । गल्ती मान्छेबाटै हुने हो, त्यसबाट सिक्दै सचिएर जाने प्राणीको नाम नै मान्छे हो । त्यसको सजाँय उनले भोगिसकेका थिए, सार्बजनिकरुपमा माफी पनि मागीसकेका थिए तर उनीमाथिको निरन्तर आक्रमणको शृङ्खला रोकिएको थिएन । भौतिक आक्रमणले दिने पीडा भन्दा प्रपोगाण्डाका लागि गरिने नियोजित आक्रमणको पीडा कष्टप्रद हुने अनुभव प्रकाश बेलाबेला सुनाउने गर्थे । प्रचण्डको छोरा भएर जन्मनुमा उनको कुनै दोष थिएन, पिताको राजनीति खुईल्याउन छोरा प्रकाशलाई बलिको बोको बनाईने गरेको पीडाबाट उनी आक्रान्त थिए । यसैबीच उनी सबैबाट बिदा भएर गएका छन् ।

हृदयघातबाट प्रकाश दाहालको निधन भएको खबरले देशदुनियाँ मर्माहत भईरहेकै बेला केही संवेदनहीन प्राणीहरुले खुशीयाली मनाएको खबरले पनि गत साता उत्तिकै चर्चा पायो । चाहे जो सुकै होस् मृत्युमा उत्सव मनाउने सँस्कार मानव समाजमा कल्पना गर्न सकिंदैन । मृत्यु शाश्वत सत्य हो, यसबाट भाग्न कोही सकिदैंन ।

चितवनमा स्वर्गिय प्रकाश दाहालको श्रद्धाञ्जली सभा चल्दै गर्दा अर्का जनबादी गायक एवं पूर्व सभासद खुशीराम पाख्रिनको पनि हृदयघातबाटै अप्रत्याशित निधन हुन गएको छ । यस प्रकारको दुःखद घटनाले आलो घाउमा नुनचुक थप्ने काम भएको छ । कालजयी प्रगतीशील गीतहरुका सर्जक एवं युगान्तकारी गायक पाख्रिनले गीत र संगीतको माध्यमबाट गाउँबस्ती ब्युँझाउँदै नेपाली समाजको रुपान्तरका लागि पुर्‍याएको योगदान सँधै स्मरणीय रहने छन् । नेपालले एकैसातामा वामपन्थी आन्दोलनका होनहार दुई योद्धालाई गुमाएको छ । हाँस्दा हाँस्दै अस्ताएका, गाउँदा गाउँदै अस्ताएका, नाच्नानाच्दै अस्ताएका प्रकाश र पाख्रिनप्रति भावपूर्ण हार्दिक श्रद्धासुमन, मर्माहत परिवारजन र शोकाकुल नेपालीहरुमा समवेदना । ***

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित