बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौँ – नेकपा (एमाले)ले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि सरकारलाई ध्यानाकर्षण गराएको छ ।
निर्वाचन परिचालन कमिटीका सदस्य मुकुन्द न्यौपाने, अग्नि खरेल, बिन्दा पाण्डे, युवराज कार्की र रमेश बडालसहितको टोलीले मुख्य सचिव, गृहसचिव र तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग सुरक्षा चूनौतीका बारेमा छुट्टाछुट्टै छलफल गरी निर्वाचनमा सम्भावित धाँधलीप्रति ध्यानाकर्षण गराएको हो । निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले हालै सरकारले आचार संहिताविपरीत प्रहरी र प्रशासनका प्रमुखहरूको सरुवा र हेरफेर गरेको बारेमा प्रश्न गरिएको र त्यसले स्वच्छ निर्वाचनलाई पार्न सक्ने असरका बारेमा ध्यानाकर्षण गराउँदै आचारसंहिताविपरीत काम नगर्नका लागि सचेत गराइएको जानकारी दिनुभयो ।
कमिटीले सञ्चारमाध्यममा दोलखामा नेपाली कांगे्रस र विप्लव नेतृत्वको नेकपासित गोप्य बैठक भएको समाचारप्रति ध्यानाकर्षण गराउँदै सरकारको जवाफको माग गरेको छ । उम्मेद्वार, मतदाता र मतपेटिका सुरक्षाको विषयमा पार्टी गम्भीर रहेको र निर्वाचन स्वच्छ र भयरहित वातावरणमा होस् भन्ने माग एमालले गरेको छ ।
यसैबीच आजै निर्वाचन परिचालन कमिटीका सदस्य अग्नि खरेलको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्तसित भेटघाट गरी स्वच्छ निर्वाचन र प्रहरी प्रशासनलाई प्रयोग गरी हुनसक्ने लक्षित धाँधलीप्रति आयोगको ध्यानाकर्षण गराएको छ । संवेदनशील निर्वाचन क्षेत्रबाट मतपेटिका मतगणनास्थलमा ल्याउँदा कानुनबमोजिम उमेदवारको प्रतिनिधि रहन पाउनुपर्ने व्यवस्थाका लागि समेत आयोगको ध्यानाकर्षण गराएको प्रवक्ता रिमालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया