शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले दिवंगत प्रकाश दाहाल आफ्ना लागि छोरा भन्दा पनि सहकर्मी र सहयोद्धा बढी भएको बताउनुभएको छ ।

प्रकाशको सम्झनामा आफ्नै निवास लाजिम्पाटमा आयोजित श्रद्धाञ्जलीसभामा प्रचण्डले प्रकाश छोरा भन्दा पनि जीवनका हरेक सुख दुखमा साथ दिने सहकर्मी र सहयोद्धाका रुपमा सम्झनुभएको हो । लिखित मन्तव्य पढ्दै प्रचण्डले आफूले प्रकाशप्रति कहिल्यै बुबाको भूमिका दिन नसकेको दुखेसो पोख्नुभयो ।

‘२०३८ सालमा उनको जन्म हुँदा म भूमिगत थिए । कहिले काहिँ मात्र घर आउथे त्यो पनि राति अबेर आउथे र बिहान झिसमिसेमै हिँडिहाल्थे । उनी निरन्तर सामाजिक, आर्थिक र मनोवैज्ञानिक असुरक्षाबीच हुर्किए, प्रचण्डले अगाडि भन्नुभयो, ‘असुरक्षाका कारण एकपछि अर्को स्कुल फेर्दा फेर्दै उनको पढाइ लथालिंग भयो । सक्रिय राजनीतिक जीवनका कारण मैले लालनपालनमा मैले बुबाका रुपमा उनीमाथि न्याय गरिन, न्याय गर्न सकिन ।’

प्रकाश प्रविधि, संगठन र व्यवस्थापनमा पोख्त रहेको प्रचण्डले उल्लेख गर्नुभयो । प्रधानमन्त्रीको दोस्रो कार्यकाल प्रकाशकै व्यवस्थापकीय क्षमता कारण सफल भएको पनि उहाँले आफ्नो मनतव्यमा उल्लेख गर्नुभएको छ ।

दाहालले प्रकाश गुमाए पनि देशका हरेक युवायुवतीमा प्रकाश देखेको र युवाहरुबाट पाएको समवेदनाले आत्मबल बढाएको बताउनुभयो । प्रकाशको यही मंसिर ३ गते राति हृदयघातबाट निधन भएको थियो । प्रकाशको निधनपछि दाहाल परिवार शोकमा डुबेको छ ।

तपाईको प्रतिक्रिया