शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो–शाही हैसियत त्याग्दै प्रेम विवाह गर्न लागेकी जापानी राजकुमारी माकोको आउने वर्षको नोभेम्बर ४ मा विवाह हुने निश्चित गरिएको छ ।
जापानी संचार माध्यम एनएचकेका अनुसार टोकियोको शाही होटलमा उनको प्रेमी केइ कोमुरोका साथ हुन लागेको विवाहको सबै व्यवस्था मिलाई सकिएको बताइएको छ ।
कोमुरोले औपचारिक रुपमा राजकुमार आकाशिनोको निवासमा विवाहका लागि सन्देशवाहक मार्फत सन्देश पठाउने छन् र राजकुमारीसँग विवाहका लागि औपचारिकताको सुरुवात हुनेछ ।
विवाहको औपचारिक संलग्नता समारोह ४ मार्चमा हुने र अक्टोबर ७ मा आधिकारिक विवाहको दिन घोषणा गरिने बताइएको छ ।
३१ अक्टोबरमा राजकुमारी माकोले जापानको परम्परागत लुगा लगाउने छिन् र तीन पवित्र स्थानहरुमा शाही पुर्खाप्रति सम्मान प्रकट गर्नेछिन । त्यसको लगत्तै उनले सम्राट र सम्राज्ञी लगायत अन्य अतिथिहरुलाई बिदाई सन्देश पठाउनेछिन् । विवाह नोभेम्बर ४ आइतबारका दिन हुने र कामुरोले आकाशिनोको निवासमा आई माकोलाई लैजाने कार्यक्रम तय गरिएको छ ।
२६ वर्षिय राजकुमारी माको राजकुमार आकिशिनो र नोरिकोकी जेष्ठ सुपुत्री हुन् । शाही घरनाले माको र कोमुरोसँगको सम्बन्धका बारेमा सेप्टेम्बरमा जानकारी गराएको थियो ।
२६ वर्षकै कोमुरो एउटा ल फर्ममा काम गर्छन् । दुवैबीच एउटै विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा पाँच वर्षअघि पहिलो पटक भेट भएको थियो । माकोले विद्यावारिधि गरिरहेकी छन् र एउटा सङ्ग्रहालयमा अनुसन्धानकर्ता रुपमा काम गर्दै आएकी छन् ।
विवाहपश्चात् यो जोडीले नगरपालिका प्राधिकरणमा गई विवाहको दर्ता गरेपछि राजकुमारी माकोेले आफ्नो राजपरिवारको सदस्यको हैसियत भने गुमाउनेछिन् । जापानको एउटा विवादास्पद कानून अन्तर्गत शाही परिवारका महिला सदस्यहरुले सर्वसाधारणसँग विवाह गरे आफ्नो शाही हैसीयत गुमाउनेछन् तर पुरुष सदस्यहरुलाई त्यस्तो विवाह गर्न छुट रहेको छ ।
राजकुमारी माको राजगद्दीको उत्तराधिकारी होइनन् किनभने सन् १९४७ को कानूनले शाही वंशको पुरुष सदस्यमात्रै सम्राट बन्ने व्यवस्था गरेको छ । ***

तपाईको प्रतिक्रिया