बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

काठमाडौं –  डा. अरुणा उप्रेती 
स्त्री तथा प्रजनन
रोग विशेषज्ञ

नेपाली महिला, किशोरी र बालबालिकाहरूमा रक्तअल्पताको अवस्था भयावह छ । तुलनात्मक रूपमा बढी मात्रामा गर्भवती महिलामा रक्तअल्पता भएको देखिन्छ । रक्तअल्पताका कारण गर्भको बच्चा रोगी हुने, सानो जन्मिने र महिलामा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने हुन्छ । तर, रक्तअल्पताबारे धेरै कमले सचेतता अपनाएका हुन्छन् ।

यस्तालाई हुन्छ रक्तअल्पता
-शरीरमा रक्तअल्पता भएपछि हावाबाट लिएको अक्सिजनलाई रगतले शरीरका अन्य भागमा सञ्चार गर्न सक्दैन । यस्तो भएमा छोटो दूरी हिँड्दा पनि थकाइ लाग्ने, स्याँस्याँ हुने, रिंगटा लागिरहने, मुटुको धड्कन बढ्ने, अल्छी लागिरहने, वाकवाक लाग्ने, खान मन नलाग्नेजस्ता समस्या हुन्छ । रक्तअल्पता बढ्दै गयो भने अनुहार र छालाको रङ पनि फुस्रो हुँदै जान्छ ।

रक्तअल्पतापछि…
-रक्तअल्पता भएपछि रोगसँग लड्ने क्षमतामा ह्रास आउँछ । र, खाना पनि रुच्न छोड्छ । जसका कारण कुपोषण हुने सम्भावना अत्यधिक हुन्छ ।

-रक्तअल्पताका कारण महिलामा गर्भपतन हुने, कम तौलको शिशु जन्मने, समयअघि नै बच्चा जन्मने, जन्मेका बच्चाको मानसिक विकास कमजोर हुने हुन्छ ।

कसरी बच्ने ?
-रक्तअल्पताबाट बच्न खानामा प्रोटिनको मात्रा बढाउनुका साथै भिटामिन बी, फोलिक एसिड र आइरन तत्व भएका खानेकुरा प्रयोग गर्नुपर्दछ ।

-मासु, भटमास, विभिन्न प्रकारका दाल, राजमा, बोडीलगायतका खाद्य पदार्थको प्रयोग बढाउनुपर्छ । यस्ता खाद्य पदार्थमा कागती मिसाएर प्रयोग गर्दा आइरन तत्वलाई शरीरले राम्रोसँग ग्रहण गर्छ ।

-गाउँतिर खाना पकाउँदा फलामको कराइ प्रयोग गर्ने प्रचलन छ । फलामको भाँडामा पकाउँदा आइरन तत्व प्राप्त हुन्छ ।

-साग, सिस्नो, गिठ्ठा, भ्याकुर, कोदो, फापर, जौ, गहुँ, चामलको ढुटो, भटमास मकै पोषणका राम्रो स्रोत भएकाले यस्ता खाद्य पदार्थको प्रयोग बढाउनुपर्छ ।

-गर्भवती महिलालाई आइरन तत्व कम हुँदा दिइने अत्यन्त सस्तो फलामको चक्की नेपालका स्वास्थ्यचौकीहरूमा सहज रूपमा पाइन्छ । यस्ता आइरन चक्की खाली पेटमा प्रयोग गर्दा वाकवाकी लाग्न सक्छ । कतिपयलाई पेट दुख्ने र पेट बाउँडिने समस्या पनि हुन सक्छ । त्यसैले खानामा प्रोटिन र आइरन तत्वको मात्रा बढाइएन भने चक्कीले मात्रै रक्तअल्पतामा सुधार ल्याउन सक्दैन ।

-कतिपय ठाउँमा केरा खाए बच्चा पाठेघरमा टाँसिन्छ, दूध–दही खाए गाईभैँसीको दूध सुक्छ भन्ने खालका अन्धविश्वास कायमै छन् । यस्तो भ्रमले गर्भवती महिलाहरू कुपोषण र रक्तअल्पताको सिकार हुन सक्छन् ।

सरकारी अनुसन्धान
-नेपालमा स्वास्थ्य मन्त्रालयले गरेको अनुसन्धानअनुसार मातृमृत्युमध्ये १० प्रतिशत रक्तअल्पताका कारण हुन्छ । रक्तअल्पता भएका महिलालाई अत्यधिक रूपमा रक्तश्राव हुने सम्भावना हुन्छ । रक्तश्रावका कारण मृत्यु हुने महिलाको संख्या २० प्रतिशत रहेको अनुसन्धानले बताएको छ ।

तपाईको प्रतिक्रिया