शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – स्पेनिस फुटबल क्लव रियाल मड्रिड र टर्कीको बेसिक्तास युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् ।

मंगलबार राती भएको खेलमा साइप्रसको अपोईल निकोसियालाई उसैको मैदानमा ६-० ले हराउँदै रियाल मड्रिडले अन्तिम १६ मा ठाउँ पक्का गरेको हो । यो समुहबाट यसअघि नै नक आउट चरणमा प्रवेश गरिसकेको इङ्लिस क्लव टोटनह्याम हट्सपरले मंगलबार राती जर्मनीको बोरुसिया डर्टमण्डलाई उसैको मैदानमा २-१ ले हरायो ।

युएफा च्याम्पियन्स लिगकै अर्को खेलमा पोर्चुगलको एफसी पोर्टोसँग १-१ गोलको बराबरी खेल्दै टर्कीको बेसिक्तास पनि अर्को चरणमा उक्लिएको छ । यो समूहको अर्को खेलमा जर्मनीको आर.बी लेप्जिगले फ्रान्सको मोनाकोलाई ४-१ ले हरायो । हारसँगै मोनाको समुह चरणबाटै बाहिरिने पक्का भएको छ ।

समूह ई को खेलमा स्पेनको सेभियासँग ३-३ गोलको बराबरी खेलेको लिभरपुलले पनि अन्तिम १६ मा उक्लिने सम्भावना बलियो पारेको छ । यो समूहका ५ खेलबाट ९ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ भने दोस्रो स्थानको सेभियाको ८ तथा तेस्रो स्थानको स्पार्टा मस्कोको ६ अंक रहेको छ ।

च्याम्पियन्स लिग समुह एफ का खेलहरुमा म्यान्चेस्टर सिटी र नापोली विजयी भए । यसअघि नै नक आउट चरणमा प्रवेश गरिसकेको इङ्लिस क्लव म्यान्चेस्टर सिटीले नेदरल्याण्ड्सको फेयनुर्डलाई १-० ले हराउँदा ईटालीको नापोलीले युक्रेनको शख्तरलाई ३-० ले पराजित गर्‍यो ।

च्याम्पियन्स लिग फुटबलमा समुह ए देखि डि सम्मका ८ खेलहरु आज राति हुनेछन् ।

तपाईको प्रतिक्रिया