बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं –  कतिपय खराब कुरालाई पनि हामीले जीवनको अंग बनाएका हुन्छौँ । जुन बानीले शरीरमा गम्भीर रोग नै निम्त्याउन सक्छ । शरीरलाई असर पार्ने त्यस्तै एउटा बानी हो, नियमित मदिरा सेवन । नियमित मदिरा सेवनले शरीरमा पार्ने गम्भीर समस्याबारे न्युरोलोजिस्ट डा. अतुल तापडिया यस्तो बताउँछन् :

मुखको क्यान्सर
धेरैले मदिराको असर कलेजोमा मात्र पर्न जान्छ भन्ने ठान्छन् । तर, मदिराले अन्य गम्भीर समस्या पनि निम्त्याउने गर्छ । दैनिक मदिरा सेवन गर्नाले मुखमा क्यान्सरको सेल बढ्दै जान्छ । जसले मुखमा क्यान्सर हुने खतरा बढ्दै जान्छ ।

घाँटीको क्यान्सर
धेरैलाई अचम्म लाग्न सक्छ, मदिराले घाँटीको क्यान्सर पनि हुन्छ । तर, यो सत्य हो । लामो समयसम्म मदिरा सेवन गर्ने बानीले घाँटीको क्यान्सर मात्र होइन, रगत बान्ता गर्ने समस्यासमेत देखिन थाल्छ ।

लिभर डिडिज
मदिरा सेवनले ‘लिभर डिजिज’ अर्थात् कलेजोको संक्रमण गराउँछ । कलेजोको सुरक्षाका लागि मदिरासेवन खतरनाक मानिन्छ । निरन्तर मदिरा सेवनका कारण कलेजो ड्यामेज नै
हुन सक्छ ।

ब्रेन स्ट्रोक
दैनिक मदिरा सेवनले शरीरको रक्तसञ्चार बिगार्छ । परिणाम ब्रेन स्ट्रोकको खतरा बढ्दै जान्छ ।

हर्ट डिजिज
मदिराले मुटुमा पनि असर पार्छ । ताकि मुटु मानव शरीरको अति संवेदनशील अंग हो । शरीरमा मदिराको मात्रा बढ्दै गयो भने रक्तसञ्चारको गति पनि तीव्र हुन्छ । र, हर्ट डिजिज हुनै सम्भावना अत्यन्त बढी हुन्छ ।

उच्च रक्तचाप
उच्च रक्तचाप गम्भीर रोग हो । उच्च रक्तचापका कारण कुन समयमा मानिस मृत्युनजिक पुग्छ भन्ने टुंगै हुँदैन । नियमित मदिरा सेवनका कारण निम्तिने अर्को रोग उच्च रक्तचाप पनि हो ।

यसरी असर गर्छ मदिराले

३० एमएल मदिरामा एक सय क्यालोरी हुन्छ । लिमिटभन्दा बढी मदिरा सेवनले क्यालोरीको मात्रा पनि बढ्दै जान्छ । यति मात्र होइन, मदिरा सेवनले ब्रेनमा डोपामाइन हर्मोन उत्पादन गर्छ । डोपामाइनले तीव्र गतिमा रक्तसञ्चार बढ्न थाल्छ । जसको कारण रक्तचापको लेभल बढ्दै जान्छ । मदिराले मुटुको कम्पनलाई समेत बढाउँछ । रगतमा असर पर्दै जाँदा रगतमा चिनीको मात्रा पनि कम हुँदै जान्छ । फलस्वरूप आँखा धमिलो हुने समस्या देखा पर्छ । शरीरमा मदिराको मात्रा बढ्दै जाँदा कार्टिसोल हर्मोनको मात्रा पनि बढ्छ र तनावलाई बढाउँदै लान्छ ।

तपाईको प्रतिक्रिया