शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

कैलाली – आसन्न प्रदेश र प्रतिनीधि सभाको निर्वाचनको मिति नजिकिएसंगै नेता देखि कार्यकर्ता सबैलार्ई चुनाव लागेको छ ।

तर प्रदेश नम्बर ७ का बिभिन्न जिल्लाका युवाहरुलाई पनि के खाने के लाउने भन्ने चिन्ता लागेको छ । चुनावको समयमा आफ्ना नेताहरुलाई विजयी गराउनुको साटो युवाहरु जिवन गुजाराका लागि रोजगारीको खोजीमा भारत जाने गरेका छन् । अछाममको साँफेबगर नगरपालिका वडा नम्बर ५ का १२ जना युवाहरु रोजगारीका लागि एकै दिन भारत प्रस्थान गरेका छन् ।

अछाममको साँफेबगर नगरपालिका वडा नम्बर ५ का राजेन्द्र बोहराले ३ पटक आफुले नेताहरुलाई भोट दिएको स्मरण गर्दै फेरी पनि केही नहुने गुनासो गर्नुभयो । उहाँले लामो समय नेताहरुलाई भोट मात्र दिने तर नेताहरुले केही पनि नगर्ने भएको बताउनुभयो । गाउँमा अरुलाई चुनाव लागेको छ मलाई के खाने के लाउने र घरपरिवारलाई कसरी पाल्ने भन्ने चिन्ता लागेको उहाँको भनाई छ ।

उहाँसंगै भारत जान लागेका खट्क ठकुल्लाको पिडा पनि उस्तै छ । उहाँले हामीले नेतालाई भोट हालेर विजयी गराएर पठाउने हामीले के पाउने उल्टै प्रतिप्रश्न गर्नुभयो । भारत गएर काम गरेर खानुको विकलप छैन उहाँले भन्नुभयो, ‘बरु एक दुई बर्ष भारतमा काम गरेर कमाएको पैसाले ३–४ बर्ष सम्म घरपरिवारलाई खान पुग्छ ।’

एकै दिन एउटै गाउँबाट १२ जना युवाहरु बिदेशीनुले गाउँ नै सुनशान बनेको छ । अछाम लगाएत अन्य जिल्लाका युवाहरु पनि रोजगारीका लागि भारत जाने गरेका छन् । कैलालीको त्रिनगर भन्सार नाका र कञ्चनपुरको गडचौकी नाका बाट अहिले दैनिक ७ नम्बर प्रदेशका युवाहरु रोजगारिका लागि भारत जाने गरेका छन् ।

तपाईको प्रतिक्रिया