शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – चीनले सन् २०४५ सम्ममा आणविक ऊर्जाबाट चल्ने अन्तरिक्षयानलगायत अन्तरिक्ष कार्यक्रममा आफ्नो लक्ष्य हासिल गर्ने योजना सार्वजनिक गरेको छ ।

भूमध्यरेखानजिक रकेट प्रक्षेपण गर्न रुससँग सम्झौता गर्नेदेखि आणविक ऊर्जायुक्त अन्तरिक्षयानको विकास गर्ने महत्वाकांक्षासहित चीनले उसको अन्तरिक्ष अन्वेषणलाई लगातार प्रगतितर्फ दोहोर्याइरहने योजना ल्याएको छ । अन्तरिक्ष अन्वेषण तथा प्रविधि हासिल गर्ने देशको लक्ष्यसम्बन्धी विस्तृत मार्गचित्र रहेको उक्त अन्तरिक्ष कार्यक्रम चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसन (कास्क)ले दिएको हो ।

उक्त कार्यक्रमले देशले के आशा गरेको छ, त्यसलाई सन् २०१७ देखि २०४५ सम्ममा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कास्कले सन् २०२० सम्ममा व्यवसायिक भूउपग्रह प्रक्षेपण कार्यक्रम सञ्चालनमा ल्याउने र त्यसका लागि लंग मार्च ८ रकेटको विकास पूरा गर्ने विषयमा जीबी टाइम्सले जनाएको छ। यसअघि उक्त अखबारले लंग मार्च ८ सन् २०१९ सम्ममा पहिलो परीक्षण हुने जनाएको थियो । सन् २०२० सम्ममा उक्त रकेटबाट योजनाअनुसार सबै लक्ष्य पूरा हुने बताइएको थियो ।

सन् २०२५ सम्ममा कास्कले पुनः प्रयोग गर्न सक्ने अन्तरिक्षयानको विकास गर्ने र त्यसलाई अन्तरिक्ष पर्यटनका लागि पृथ्वीको उपकक्षमा पुर्याउने योजना पनि ल्याएको छ । उक्त योजनामा अमेरिकाको निजी अन्तरिक्ष कम्पनी ब्लु ओरिजिन र भर्जिन ग्यालेक्टिकले पनि आँखा गाडेर बसेको छ । यसअघि नै चीनले पुनः प्रयोग गर्न सकिने अन्तरिक्षयान सन् २०२० सम्ममा पहिलो परीक्षण गर्ने योजना बनाएको थियो ।

योजनाअनुसार सन् २०३० सम्ममा लंग मार्च ९ रकेट प्रयोगका लागि तयार हुनेछ । यसले अत्यधिक भार वहन गरी अन्तरिक्ष उडान भर्ने क्षमता राख्नेछ। यसको भार वहन क्षमता १ सय टनसम्म हुनेछ । यो मानवसहित चन्द्रमा र सम्भवतः मंगलग्रहमा मानवविहीन अभियानमा प्रक्षेपणका लागि सक्षम हुने छ । –एजेन्सी

तपाईको प्रतिक्रिया