शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो– जापानबाट गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) मा निर्वाचित पदाधिकारीहरुलाई  नेपाली राजदूतबासले शुभकामना तथा बधाई ज्ञापन गरेको छ ।

अध्यक्ष भवन भट्ट लगायतका निर्वाचित पदाधिकारीहरुलाई जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले खादार्पण गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको हो ।

सो अवसरमा बोल्दै राजदूत राणाले नेपालको सम्वृद्धिका लागि गैरआवासीय नेपालीहरुबाट राज्यले ठूलो अपेक्षा राखेको बताउंदै आपसमा मिलेर नेपाल र नेपालीको शिर उच्चो राख्ने काममा सहकार्य गर्दै अगाडि बढ्नपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अध्यक्ष भट्टले नेपालमा हालको उर्जा संकटलाई न्युनिकरण गर्न नेपाल सरकारसंगको सहकार्यमा एलइडी बल्ब उपलब्ध गराएर २ सय ५० मेगावाट विद्युत बचत गर्ने योजनामा आफु लागेकाले यस कार्यमा सबैले साथ दिनका लागि आग्रह गर्नुभयो । नेपालको विकासका लागि आफ्नो टिमले प्रवासी नेपालीहरुको हितमा सक्दो काम गर्ने बताउनुभयो ।

गत अक्टोवर १४ देखि १७ सम्म काठमाडौंमा सम्पन्न भएको संघको आठौं महाधिवेशनबाट जापानबाट अध्यक्षमा भट्ट, सुदन थापा युवा संयोजक, प्रबक्तमा भूषण घिमिरे,  किरणबिक्रम थापा एशिया प्यासिफिक संयोजक र पारसमणी पोखरेल एसिया प्यासिफिक उपसंयोजकमा चयन हुनुभएको थियो । यसैगरी सोही अवसरमा आईसीसी सदस्यहरु तथा एनआरएन जापानमा निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई पनि खादार्पण गरी बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो । ***

 

तपाईको प्रतिक्रिया