बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

झापा – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्ना गतिविधिलाई शान्तिपूर्ण र मर्यादित बनाउने झापा क्षेत्र नं २ का उम्मेदवारले साझा प्रतिबद्धता गरेका छन् ।

संवाद समूहको संयोजनमा बिर्तामोडमा आयोजित उम्मेदवारसँगको छलफलमा निर्वाचनलाई व्यवस्थितरूपमा सञ्चालन गर्न र शान्तिपूर्वक उत्साहजनक सहभागिता गराउन उनीहरूले छ बुँदे साझा प्रतिबद्धता व्यक्त गरेका हुन् । झापा–२ का उम्मेदवारले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने चुनावी एवं राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने, निर्वाचनलाई भयरहित र द्वन्द्वरहित बनाउने प्रतिबद्ध भएका हुन् ।

त्यस्तै निर्वाचन प्रचारलाई तडकभडकरहित, कम खर्चिलो र मितव्ययी बनाउने, मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोगीको भूमिका निर्वाह गर्ने र एक अर्काको सहअस्तित्व स्वीकारेर सम्मानपूर्वक व्यवहार गरी असल राजनीतिक संस्कारको विकास गर्ने प्रतिबद्धतासमेत उनीहरूले गरेका छन् ।

साझा प्रतिबद्धतामा झापा–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि लोकतान्त्रिक गठबन्धनअन्तर्गत नेपाली काँग्रेसका उद्धव थापा, वाम गठबन्धनबाट नेकपा ९एमाले०का पवित्रा निरौला खरेल, नयाँ शक्ति पार्टीका भक्तबहादुर बुढाथोकी, राष्ट्रिय जनता पार्टीका महावीर राई, देशभक्त जनगणतान्त्रिक मोर्चाका होमचन्द्र घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीका पर्शुराम मगर र संघीय लोकतान्त्रिक मञ्चका मानबहादुर साँवाले हस्ताक्षर गर्नुभएको थियो ।

त्यस्तै क्षेत्र नं २ प्रदेशसभा १ बाट वाम गठबन्धनबाट एमालेका एकराज कार्की, प्रदेशसभा २ मा नेपाली काँग्रेसका खड्गप्रसाद प्रसाईं, एमालेका बृखबहादुर प्रधान र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नगेन्द्र राईले समेत साझा प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको संवाद समूहका प्रतिनिधि एकराज गिरीले जानकारी दिनुभयो ।

उम्मेदवारका एजेण्डा यस्ता छन्
झापा २ मा प्रतिनिधिसभा सदस्यका लागि काँग्रेसका उद्धव थापाले दिगो शान्ति, संविधानको कार्यान्वयन, मुलुकलाई समृद्ध बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउँदै उहाँले कृषि क्षेत्रको क्रान्ति, पर्यटनको विकास र पाँच वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने पार्टीको संघीय एजेण्डासमेत प्रस्तुत गर्नुभयो ।

अर्का प्रतिस्पर्धी एमालकी पवित्रा निरौला खरेलले दिगो शान्ति, समृद्धि, संविधान कार्यान्वयन र स्थायी सरकारसँगै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चितता आफ्नो मूल एजेण्डा रहेको बताउनुभयो । क्षेत्र नं २ मा आवागमन सहज बनाउन सडक विस्तार, सडकको स्तरोन्नति, झोलुङ्गे पुल, पर्यटकीय क्षेत्रको विकास, अर्जुनधारा र साधुटारलाई धार्मिक पर्यटनका रूपमा विकास, यस क्षेत्रमा पर्ने पाँच पोखरीको संरक्षण, शहीद पार्कको विकास र भ्यू टावरको निर्माणमा पहल गर्ने उहाँले जानकारी दिनुभयो ।

नयाँ शक्ति पार्टीका प्रतिस्पर्धी भक्तबहादुर बुढाथोकी (कुमार क्षेत्री)ले अबको पालो विकास र समृद्धिको भएको र त्यसैका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
राष्ट्रिय जनता पार्टीका प्रतिस्पर्धी महावीर राईले पहिचान तथा हक अधिकार सुनिश्चितताका लागि आफ्ूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले पहिचानसहितको अधिकार जनतामा पुर्याउनका लागि आफूलाई मतदान गर्न आग्रह गर्नुभयो ।

देशभक्त जनगणतान्त्रिक मोर्चाका प्रतिस्पर्धी होमचन्द्र घिमिरेले नेपालमा राजनीतिक क्रान्ति पूरा नभएको र त्यसलाई पूर्णता दिन आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।
राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिस्पर्धी पर्शुराम मगरले जातीय संख्याका आधारमा राज्यका हरेक तहमा प्रतिनिधित्व सुनिश्चितता र हाम्रो विकास, हाम्रो सहभागिता, हामै्र संरक्षणका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मानबहादुर साँवाले शिक्षा क्षेत्रमा परिवर्तन, जनशक्ति व्यवस्थापन, विकास निर्माण, वृद्धवृद्धालाई सेवा, युवा बेरोजगार समस्याको समाधानका लागि पहल हुने जनाउँनुभयो । झापा २ प्रदेशसभा क्षेत्र १ मा एमालेका एकराज कार्की, काँग्रेसका खड्गप्रसाद प्रसाईंले पनि आ–आफ्ना एजेण्डा प्रस्तुत गर्नुभयो।

तपाईको प्रतिक्रिया